विद्यार्थीलाई एसेम्ब्लीमै सजाय दिनु कति जायज ?

सम्पादकलाई चिठी

308
Shares

श्री सम्पादक ज्यू,
हामी विद्यार्थीको गुनासो तपाईंको पत्रिकामार्फत हाम्रो स्कुलका प्रिन्सिपलसमक्ष पुर्‍याइदिनुहुन अनुरोध छ ।
हाम्रो स्कुलमा पनि अरु स्कुलमा जस्तै बिहान कक्षा शुरु हुनुअघि स्कुल एसेम्ब्ली हुन्छ । त्यस समयमा राष्ट्रिय गीत, स्कुल गीत गाउनुका साथै विभिन्न बिदा, परीक्षा, प्रतियोगिता आदिका बारेमा सूचनाहरु दिने र विद्यार्थीको हेल्थ एन्ड हाइजिन एवं पोशाकको बारेमा सर–मिसहरुबाट निरीक्षण पनि गरिन्छ ।

स्कुलको यस किसिमको व्यवस्थालाई हामीले सकारात्मकरुपमा लिएका छौं । विद्यार्थीको हेल्थ एन्ड हाइजिन र पोशाकको निरीक्षणका क्रममा कहिले कुनै विद्यार्थीको मोजाको कलर नमिलेको, कहिले सर्ट–पाइन्टमा आइरन लगाउन छुटेको, कसैको कपाल राम्ररी नकोरेको, नङ सफा नभएको वा लामो भएको, कसैको कपडामा दाग वा फोहोर लागेको भेटिन्छ । यसो गर्दा हरेक निरीक्षणका बेला १०–१५ जनामा केही न केही कमजोरी भेटिन्छ ।

प्रायः हरेक विद्यार्थीमा कुनै न कुनै दिन यस्ता कमजोरी भेटिन्छन् । यस्ता कमजोरीहरु सुधार गर्न र नदोहो¥याउन विद्यालय व्यवस्थापनले दिएको सुझावलाई हामी विद्यार्थीले सधैँ स्वीकार गर्नुपर्छ । विद्यालयको अनुशासन पालना गर्नु विद्यार्थीको कर्तव्य पनि हो ।

तर विद्यार्थीमा पाइने यस्ता कमजोरीका लागि स्कुल एसेम्ब्लीका बेला नै ती विद्यार्थीलाई अगाडि बोलाएर सबैका सामु कान सामाई उठबस गराउने, कुखुरा बन्न लगाउनेलगायतका विभिन्न सजाय दिनु कदापि उचित होइन । विद्यालयका सबै विद्यार्थीका सामु यसरी सजाय दिँदा हामीलाई ज्यादै पीडा र आत्मग्लानी अनुभव हुन्छ, बदलाको भावना जाग्छ ।

सानो भूलको लागि ठूलै अपराध गरेजस्तो गरी किन सजाय दिएको होला ? भन्ने लाग्छ । कहिलेकाहीँ त स्कुल नै छोडौँजस्तो लाग्छ । घरमा गएर भन्न पनि आँट आउँदैन । मनमा कुरा खेल्छ, तनाव बढ्छ, अनि झन् पढ्न मन लाग्दैन । विद्यार्थीले राम्ररी पढ्न नसक्नु भनेको विद्यार्थी, अभिभावक र विद्यालय कसैको लागि पनि राम्रो होइन ।

त्यसैले हाम्रो अनुरोध छ कि हामीले जानी नजानी गल्ती गर्दा सजाय दिनु नै छ भने एसेम्ब्लीका बेला नभई अफिसमा बोलाएर सम्झाउन, तर्साउन, सजाय दिन वा के गर्न उचित लाग्छ, गर्दा हुन्छ । तर प्लिज प्रिन्सिपल सर, हामीलाई एसेम्ब्लीका बेला सबैका अगाडि उभ्याएर जीवनभर नभुल्ने किसिमको सजाय नदिनुहुन अनुरोध छ ।
कक्षा ९ का विद्यार्थीहरु
….बोर्डिङ स्कुल, काठमाडौं ।