सडेको खानेकुरा बेच्ने होटललाई दुई लाख जरिवाना

434
Shares

धादिङ । 

सडेर गन्हाएको खानेकुरा बेच्ने पृथ्वी राजमार्गको एक होटललाई जिल्ला अनुगमन समितिले २ लाख जरिवाना गरेको छ ।
राजमार्गमा यात्रा गर्ने यात्रुलाई सडेगलेको खानेकुरा बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा संचालित न्यू रिया होटल दुई लाख जरिवाना गरिएको हो ।

यात्रु तथा उपभोक्तालाई जवरर्जस्ती बासी, सडेगलेको र दूषित खाना खुवाएको भेटेपछि जिल्ला प्रशासन कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना तिराएको छ । 

न्यू रिया होलमा खाजा खान लाग्दा समोसा, तरकारी लगायतका खानेकुरा गन्हाएको र सडेको बिक्री गरिरहेको उजुरी र गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरी र अनुगमन टोली होटल पुगेको थियो । अघिल्लो दिनमा नै तयार गरिराखेको खानेकुराहरु सडिसकेको फेला पारेको र त्यही खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ ९क० बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा दुई लाख जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । जरिवाना तथा सजाय चित्त नबुजेको खण्डमा पुनरावेदन जान सक्ने उनले बताए । 

‘ एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर रिया होटलले बासी, सढेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गर्नुभयो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुग्यो । फ्रिजमा राखेको खानेकुरा समेत सडेको र गनाएको फेला परेपछि वडा अध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल संचालकलाई गिरफ्तार गरी ल्यायौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने–‘बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकोले गन्ध आएको स्वीकार समेत गरेकोले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना तोकिएको हो ।’

पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ काठमाडौँ चल्ने यात्रुबाहक सवारीले यात्रुहरुलाई खाजाखाना खुवाउदै आएको छ । 

समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका संचालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्य सचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताए। तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सकने पनि गौतमले जानकारी दिए ।  

जरिवानामा परेको रिना होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको किचन र बाहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको गौतमको भनाई छ । 

जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियमक निकायले पछिल्लो समय होटल तथा पसलहरुको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कालोबजारी गरेको कसुरमा एक लाखसम्म जरिवाना तिराइएको थियो ।