युगकवि सिद्धिचरणबाट म अति प्रेरित भएको छु : प्रधानमन्त्री ओली


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताएका छन् ।

युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताएका हुन् ।

“जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ”, उनले भने । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गरे । “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु”, उनले भने, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद  एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद  ४० हजारसहित पुरस्कृत भए ।

सोही समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरे ।