सफलताका लागि विद्यार्थीका पाँच लक्षण


प्राचीनकालमा पढ्नका लागि गुरुकुलमा जानुपथ्र्यो । त्यहाँ सर्वप्रथम गुरुले विद्यार्थीमा हुनुपर्ने लक्षण सुनाउनुहुन्थ्यो । ती लक्षण नभएको विद्यार्थीले पढ्न सक्दैन भनिन्थ्यो । त्यसैले हरेक विद्यार्थीले ती लक्षणको अनुशरण गर्नैपथ्र्यो, जसले गर्दा विद्यार्थीलाई सफलता हासिल गर्न मद्दत मिल्थ्यो । के होलान् त ती पाँच लक्षण ?
काक चेष्टा वको ध्यानं श्वान निद्रा तथैव च ।

अल्पाहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षणम् ।

१. काक चेष्टा (कागको जस्तो चंख) :

यसको मतलव विद्यार्थी सधैँ कागजस्तै चलाख, एकाग्र र सतर्क रहनुपर्छ । साथै आलस्यलाई त्याग्नुपर्छ । यसले विद्यार्थीको जीवनमा सफलताको ढोका खोल्छ । विद्यार्थीको यो पहिलो लक्षण हो ।

२. बको ध्यानं (बकुल्लोको जस्तो ध्यान) :

बको ध्यानम् भनेको विद्यार्थीले आफ्नो लक्ष्यमा त्यसरी नै ध्यान केन्द्रित गर्नुपर्छ, जसरी बकुल्लो नामको चराले पानीमा एक खुट्टामा उभिएर माछालाई आक्रमण गर्दा ध्यान केन्द्रित गर्छ ।

३. श्वान निद्रा (कुकुरको जस्तो निद्रा) :

श्वानको अर्थ कुकुर हो । श्वान निद्रा भनेको कुकुरले जस्तै विद्यार्थीले आलस्य र निद्रा त्याग्नुपर्छ । कुकुरको जस्तै क्षणिक निद्रा हुनुपर्छ । स्मरण रहोस्, कुकुर कहिल्यै गहिरो निद्रा सुत्दैन । यहाँ भन्न खोजिएको विद्यार्थी धेरै सुताहा हुनुहुँदैन । सुतेर बिताउने समय पढ्नमा लगाउनुपर्छ ।

४. अल्पाहारी (कम आहारा लिने) :

विद्यार्थीले अल्पाहार अर्थात् पेट कसिने गरी नखाई केही कम खानुपर्छ । किनभने कम खाँदा अल्छी र आलस्य हुँदैन । यस्तो अवस्थामा विद्यार्थीले कुनैपनि काममा ध्यान दिन सक्छ ।

५. गृह त्यागी (घर त्याग्ने) :

विद्यार्थी सफल हुनका लागि अभिभावक, नाता र परिवारप्रतिको लगाव त्याग्नुपर्छ । सकेसम्म घर त्यागी अन्यत्र बसेर पढ्नु, गुरुकुलमा गएर पढ्नु लाभदायक हुन्छ । घर–परिवारमा आशक्त भएको व्यक्ति जीवनमा सफल हुन गाह्रो पर्छ । त्यसैले आजकाल प्रायः अभिभावकले नजिकको स्कुल÷कलेजमा नपढाएर छोराछोरीलाई सकेसम्म अन्यत्र टाढा वा होस्टलमा राखेर पढाउने गरेको देखिन्छ ।

उहिलेमात्र होइन, अहिले पनि यीमाथि बताइएका लक्षण अनुशरण गर्ने विद्यार्थीले पढाइमा सफलता हासिल गर्न गाह्रो छैन । यी लक्षण हुने विद्यार्थी मिहिनेती हुन्छ भन्ने बुझ्नुपर्छ । त्यसैले उसले सफलता हासिल गरेरै छाड्छ ।