समाचार प्रभाव : समस्यामा परेका तिनघरेका दलित बालबालिकालाई सहयोग 


धादिङ ।

बाबुको मृत्यु, आमा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिकासहित गरिबीका कारण कष्टकर जीवन बिताइरहेका ७ बालबालिकालाई कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न सामाग्री उपलब्ध गराइएको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपूर्ण आधारभूत विद्यालयका ७ जना बालबालिकालाई सहयोग गरिएको हो। 

मानवी क्रियटिभ एशोसिएसनका अध्यक्ष बद्री प्रसाद ढुङ्गाना र सचिव जयन्ती अधिकारीले १५ हजार बराबरको कपडा, जुत्ता सहयोग गरेका हुन् । ढुङ्गाना हाल वैदेशिक रोजगारको सिलसिलामा जापानमा छन्। त्यसै गरी हाल इजरायलमा कार्यरत राजन दुवाडीले कापी, सिसाकलम लगायत स्टेस्नरी सामान उपलब्ध गराएका छन्। 

नीलकण्ठ–८ का प्रदिप सुवेदीले खाद्यान्न सामाग्री र त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठले ट्रयाकसुट सेट सहयोग गरे। आमा बाबु नभएका पार्वती, रामशरण र राजेन्द्र मिजार लगाउने कपडा र खानेकुरा नभएपछि कष्टकर जीवन बिताउँदै आइरहेका थिए। 

रबिन सुनार, इन्दीरा मिजार, सन्जीता मिजार र अनुस्का सुनारको अवस्था अत्यन्त दयनीय भएको समाचार नेपाल समाचार पत्रको न्युज अफ नेपाल डटकममा प्रकाशित भएपछि उक्त समाचारको प्रभावबाट दाताहरूले सहयोग उपलब्ध गराएको पत्रकार सिताराम अधिकारीले बताए।

न्यूज अफ नेपाल डटकममा अभिभावक नभएपछि खाना खोज्दै गाउँतिर, च्यातिएको लुगामा विद्यालय” शीर्षकमा समाचार प्रकाशन भएको थियो। सहयोगी ढुङ्गानाले मानवी क्रियटिभ एसाेसियसनले आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। विद्यालयमा एक कार्यक्रमकाबिच उक्त सामाग्री वितरण गरिएको थियो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोपिला कोइराला, प्रधानाध्यापमक उर्मिला तिमल्सिना, पत्रकार सिताराम अधिकारी र आकाश लम्सालले उक्त सामाग्री वितरण गरेका हुन्।