भ्रष्ट प्रवृत्ति त्याग



राष्ट्रसेवकको दर्जामा रहेका अधिकांश निजामती कर्मचारीहरुले पाएसम्म घूस र कमिसन खाने गरेका छन्। नीतिगत तहमा रहने उच्च प्रशासकहरुले राजनीतिक नेतृत्वसँग मिलेमतो गरी अकूत सम्पत्तिसमेत आर्जन गरिरहेको पाइन्छ। राष्ट्रसेवकहरु भ्रष्टाचारमा लिप्त भइरहेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने भ्रष्टाचार मुद्दाको क्रमले पनि पुष्टि गर्छ। अख्तियारले गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै विभिन्न दर्जा र सेवा समूहका गरी ५ सय २० जना कर्मचारीहरुलाई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले मुद्दा दायर गर्ने कर्मचारीहरुको संख्या बर्सेनि बढ्दै गइरहेको देखिन्छ ।

आम कर्मचारीहरुले नारा र बोलीमा सुशासनका मीठा–मीठा गफ हाँक्ने भए पनि व्यवहारमा भने उल्टो गर्दै भ्रष्टाचारमा लिप्त हुने क्रम घट्नुको साटो बढ्नु आफैँमा दुःखद पक्ष हो । मुुलुकमा सुशासन दिने, देश र जनताको काम इमानदारितापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरु धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढ्दा त्यसले जनस्तरमा उनीहरुको साखसमेत नराम्ररी घट्न पुगेको छ।

अख्तियारले गत आवमा निजामती प्रशासनको सर्वोच्च पदमा रहेका मुख्य सचिवविरुद्ध नै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस अवधिमा मुख्य सचिवलगायत अन्य १२ जना विशिष्ट श्रेणीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । मुख्य सचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर गरिएपछि निजामती प्रशासन थप बदनाम बन्न पुगेको छ।

अख्तियारले गतवर्ष सहसचिवस्तरका २५ जना, उपसचिवस्तरका ७२ जना, लेखापाल ५४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसै गरी भ्रष्टाचार मुद्दा दायर गरिएकामा नायब सुुब्बास्तरका १४४ जना, खरिदारस्तरका ३१ जना, जुनियर कर्मचारी १३ जना र कार्यालय सहयोगी २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । यसरी अख्तियारको मुद्दा दायरको स्वरुप हेर्दा निजामती सेवामा रहेका सबै तह र तप्काका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न भइरहेको देखिन्छ । निजामती क्षेत्रमा कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मकै कर्मचारीहरु भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन्छ । विज्ञहरुका अनुसार सरकारका उच्च पदस्थ कतिपय कर्मचारीहरुले नीतिगत भ्रष्टाचारमा समेत संलग्न भएर अकूत सम्पत्ति आर्जन गरेका छन् । त्यसैले अख्तियारले त्यस्ता कर्मचारीको पहिचान गरी अकूत सम्पत्तिमा छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अहिले सबैतिर भनिने र गुनासो गरिने विषय भनेकै नेपालमा कोही पनि इमानदार भएनन्, सदाचारी भएनन्, सबैतिर भ्रष्टाचार व्याप्त भयो । त्यसैले देश पनि खत्तम भयो । त्यसमा पनि जनताको करबाट तलब, सेवा–सुविधा लिने कर्मचारीहरुले घूस खाएर तथा अनियमित किसिमले पैसा आर्जन गर्दा उनीहरुले देश र जनतामाथि नै अपराध गरेको ठहर्छ।

उनीहरुलाई चाहिने तलब र सेवा–सुविधा राज्यले राम्रै दिएको छ। जनताको करबाट तलब लिने कर्मचारीले जनताबाटै घूस खाने अपराधपूर्ण कार्य किमार्थ पनि गर्नुहुँदैन। अब आम कर्मचारीहरु सच्चिनुको विकल्प छैन। त्यसैले पुराना भ्रष्ट प्रवृत्ति अन्त्य गरी देश र जनताको हितमा समर्पित हुन पनि सबै कर्मचारीहरु नैतिकवान् र सदाचारी बन्नुपर्छ। सबै कर्मचारीले अब भ्रष्ट प्रवृत्ति त्याग्नै पर्छ।