नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न


काठमाडाैं ।
रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला वन्दीहरुलाई सेवा पुर्याउने उदेश्यले सञ्चालन गरिएको एक दिने नि: शुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रत्यक्ष रुपमा २ सय ५० जना महिलाले आँखा शिविरमा आफ्नो आँखा परिक्षण गराउनु भएको छ भने २ सय ३० जना महिलाले दन्त परिक्षण गराउनु भएको छ । कार्यक्रममा आँखा परिक्षण पश्चात आवश्यक पर्ने १ सय ६० वटा विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र किर्तिपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले गर्नु भएको थियो । नि: शुल्क जनचेतनामुलक स्वास्थ्य शिविरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा किर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा. सविना श्रेष्ठले र दाँत कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश वुढाथोकिले अभिमुखिकरण गर्दे विषयमाथि प्रकाश पार्नु भएको थियो ।

शिविर समापन कार्यक्रम केन्द्रिय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त समापन कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य तथा रोटरी क्लव अफ महाराजगन्जका संस्थापक अध्यक्ष डा. जय वहादुर टण्डनले केन्द्रीय कारागारको आवश्यकता पहिचान गरी सहकार्यमा अगाडी बढ्न सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रत्यक्ष र अप्रत्यक्षरुपमा सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण प्राविधिक,प्रशासनिक ,सुरक्षा गुल्म लगायत चौकिदार,नाईके,भाई नाईके,बैदार सहयोगीहरुलाई कारगारका प्रशासक कृष्ण वहादुर कटुवाल, रोटरी क्लव अफ महाराजगन्जका अध्यक्ष ई सुदर्शन भण्डारी तथा अस्पतालका प्रमुख,क्लबका आईपीपी तथा शिविर आयोजक समितीका संयोजक डा. बुढाथोकीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

डा. बुढाथोकीले शिविरको समापन गर्दे अर्काे साता करिब २ हजार ९ सय कैदीबन्दी रहेका केन्द्रिय र भद्र सुधार गृहमा थप शसक्त र गुणस्तरीय बन्दै ठुलो मात्रामा भेटने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।