पाटागाँउ प्रकरण : बास बस्न आएका युवाले हत्या गरेको पुष्टि

154
Shares

दोलखा।

दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ६ पाटागाँउमा घर भित्रै मृत भेटिएका  वृद्धाको हत्या बास बस्न आएका छिमेकी गाँउका युवाले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

गत साउन १० गते आफ्नै घर भित्र मृत भेटिएकी  ७५ बर्षिया  पदमकुमारी सुनुवारको हत्या बास बस्न आएका छिमेकी गाँउ कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ नर्मीका करिब २२ बर्षिय विक्रम कार्कीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

बृद्धा सुनुवार आफ्नै घरमा मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले बागमती प्रदेश कार्यालय हेटौडाबाट केनाईन टोली माग गरी घट्ना स्थलको अनुसन्धानमा कुकुरकोसमेत परिचालन गरेको थियो । 

कुकुरले अभियुक्त युवकको घरजाने बाटोसम्म पु¥याउन सहयोग गरेको प्रहरीको भनाई छ । अनुसन्धानको क्रममा छिमेकीले मृतकको घर टोलमा आएका युवाको हुलिया र उनले नर्मी घर बताएको भनी  दिएको जानकारीको आधारमा वडा नम्बर– ४ नर्मीका रमेश कार्कीको छोरा विक्रम कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले अपराध स्वीकार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताए । 

अभियुक्त विक्रम कार्की दुबई जान काठमाडौँमा अन्र्तवार्ता दिई साउन ९ गते घर फर्कीएका थिए । साँझ ७ः३० बजे कालिञ्चोक गाँउपालिकाकै सिसागोलाईमा ओर्लिएर घर जानेक्रममा पाटागाँउमा पुगेपछि रातपरेकोले उनले मृतक पदमकुमारी सुनुवारको घरमा बास मागेका थिए । नर्मी गाँउमा सुनुवारको नातेदार रहेको र विक्रम पनि नर्मीकै भएकोले मृतक वृद्धाले उनलाई बास दिएकी थिइन । 

केही समय घर– व्यवहारको कुरा गरेर बिक्रमलाई चाउचाउ पकाएर खान दिई भान्सा कोठामा सुत्ने व्यवस्था मिलाई बृद्धा सुनुवार कोठामा सुत्न गएको प्रहरीको भनाई छ । बृद्धासंगको कुराकानिको क्रममा बिक्रमले सामाजिक सुरक्षा भत्ताको  पैसा भएको अनुमान गरेको र त्यो लुट्ने मनसाएले बृद्धा निदाएको ठानी ढोका फोडेर भित्र पस्दा वृद्धाले देखेर चिच्याएकोले उनको हत्या गरेको हुुनसक्ने प्रहरी निरीक्षक लामाले बताए । वृद्धाको कोठामा पैसा खोज्नलाग्दा उनीले थाहापाएर चिच्याएपछि ढोका फुटाउन लगेको खुकुरीले ३-४ चोटी हानेर हत्या गरेको बयान कार्कीले दिएको प्रहरी निरीक्षक लामाले बताए ।

श्रीमानको निधन भइसकेकोले मृतक सुनुवार घरमा एक्लै बस्दै आएको र तल अर्को घरमा बस्ने बुहारी र नाति पनि अर्को गाँउमा जन्मदिनको कार्यक्रममा गएकोले साउन ९ गते उनी एक्लै भएको प्रहरीले जनाएको छ । 

अभियुक्त विक्रम कार्कीलाई जिल्ला अदालत दोलखाबाट पाँच दिनको म्याद लिई घट्नाको थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।