हिजोआज नेपाली शेयर बजार पनि फस्टाउँदै गएको छ । अहिले ६० लाखभन्दा बढी नेपाली प्रत्यक्ष वा अप्रत्यक्षरूपमा शेयर बजारसँग जोडिएका छन् । तीमध्ये झन्डै आधा संख्या सक्रिय लगानीकर्ता छन् । सानो–सानो पुँजीबाट पनि प्रतिफल प्राप्त गर्न सकिने र बजारबाट लगानी संकलन गरी परियोजनाको विस्तार गर्न सकिने भएकाले शेयर बजारप्रति आकर्षण बढ्दो छ । नेपालमा शेयर बजारको समग्र बजार पुँजीकरण ४० खर्ब रुपियाँको हाराहारीमा रहेको छ भने ३ सयभन्दा बढी कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएका छन् । साथै दैनिक औसत १० अर्ब रुपियाँ कारोबार हुने गरेको छ ।
विश्व बजारमा शेयर कारोबारको शुरुवात कसरी भयो भन्ने स्पष्ट छैन । यद्यपि, शेयर बजारको शुरुवात भने १५औं शताब्दीमा एन्टवर्प र लन्डनबाट भएको पाइन्छ । आधुनिक शेयर बजार भने सन् १६०२ मा एम्स्टर्डममा डच इस्ट इन्डिया कम्पनीको स्थापना भएसँगै शुरू भएको मानिन्छ ।
सन् १९३७ मा विराटनगर जुट मिल्स् लिमिटेडको शेयर जारी भएकाले नेपालमा शेयर बजारको शुरुवात त्यसैलाई मान्ने गरिन्छ । तर, यो औपचारिकरूपमा संगठित शेयर बजार भने थिएन । त्यसो त त्यसअघि नै राणा र दरबारियाहरूले भारतका विभिन्न कम्पनीमा शेयर लगानी गरेको पनि पढ्न पाइन्छ । जे होस् शेयर बजारको औपचारिक शुरुवात विसं २०३३ सालमा सरकारले ‘सेक्युरिटिज् एक्सचेन्ज सेन्टर’ स्थापना गरेपछि भएको थियो । ‘सेक्युरिटिज एक्सचेन्ज सेन्टर’ लाई विसं २०५० मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरिएपछि शेयर बजार औपचारिक र व्यवस्थित बन्न पुग्यो । तथापि, नेप्सेले २०५१ मा मात्रै औपचारिकरूपमा कारोबार शुरू गरेको थियो । नेपालमा शेयर बजारको नियमन र विकास गर्न विसं २०५० सालमा नेपाल धितोपत्र बोर्डको स्थापना भयो ।
शेयर बजारको महत्व
दीर्घकालीन पुँजीको परिचालनमार्फत अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई प्रतिफललाई धेरैभन्दा धेरै व्यक्तिले उपभोग गर्न पाउने अवसरको सिर्जना गर्न सकिन्छ । पुँजीलाई प्रभावकारी र दीर्घकालीन परिचालन गर्न, सरकारलाई आवश्यक दीर्घकालीन पुँजी व्यवस्था गर्न, बचत परिचालन तथा लगानीमा वृद्धि गर्न, देशको औद्योगिकीकरण तथा पूर्वाधार विकास गर्न, देशको अर्थतन्त्रको विकास–विस्तारको प्रतिफल सर्वसाधारणमा समानरूपमा वितरण गर्न, वित्तीय बजारको सन्तुलित एवं एकीकृत विकास गर्न, कम लागतमा पुँजी परिचालनको व्यवस्था गर्न र खुलाबजार अर्थतन्त्रलाई सबलीकरण गर्न शेयर बजारको महत्व हुने गर्छ ।
लगानी कसरी गर्ने ?
शेयर बजारमा विशेषगरी दुईवटा माध्यमबाट लगानी गर्न सकिन्छ ः एउटा प्राथमिक बजार र अर्को दोस्रो बजार । प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ताले बजारमा नियामक निकायद्वारा अनुमति प्राप्त कम्पनी, संगठित संस्था वा सरकारले लगानी जुटाउन जारी गरेको शेयर, बन्ड तथा ऋणपत्रमा निश्चित प्रक्रिया पूरा गरेर लगानी गर्न सक्छन् । बजारमा सर्वसाधारणका निम्ति प्राथमिक शेयर निष्कासन (आईपीओ) र थप शेयर निष्कासन (एफपीओ)का रूपमा शेयर बिक्री खुल्ला गरिएको हुन्छ ।
दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताको लगानी मात्रा, मुनाफा र जोखिम सबै बढी हुने गर्दछ । प्राथमिक बजारमा निष्काशन भएको शेयर नेप्सेमा सूचीकृत भएपछि पुनः कारोबार गर्ने व्यवस्था दोस्रो बजारमा मिलाइएको हुन्छ । शेयर ब्रोकरमार्फत यसको दैनिक कारोबार हुन्छ । आफैंले मूल्य तय गरी सूचीकृत कम्पनीको आफ्नो स्वामित्वमा रहेको शेयर अंश बिक्री वा अन्यबाट खरिद गर्न सकिन्छ । लगानीकर्ताहरूले माग र आपूर्तिमा आधारित र मूल्य निर्धारण हुन्छ । माग बढी भएमा मूल्य बढ्छ र कम भए घट्छ ।
किन लगानी गर्ने ?
साधारण लगानीकर्ताको अन्य लगानी विकल्पको तुलनामा शेयर बजारले उच्च प्रतिफल दिन सक्छ । शेयर बजारमा सजिलै किनबेच गर्न सकिन्छ, जसले लगानीकर्तालाई तरलता प्रदान गर्छ । आफूलाई रकमको आवश्कता भएको बेला बेच्न र बचत बढी भएकाबेला किन्न पाइन्छ । विभिन्न उद्योग र क्षेत्रका कम्पनीमा लगानी गरेर आफूसँग भएको पुँजीको विविधकीरण गरी मुनाफा गर्न र जोखिम घटाउन सकिन्छ । एउटै क्षेत्रमा लगानी गर्दा जोखिम हुन सक्छ । शेयर बजारले दीर्घकालीन रूपमा सम्पत्ति निर्माण गर्न मद्दत पु¥याउँछ । कम्पनीको मुनाफाको आधारमा शेयरको मूल्य बढ्न सक्छ । तसर्थ, आफूले लगानी गरेको लगानी भन्दा कयौं गुणा बढी सम्पत्ति वृद्धि हुन सक्छ ।
लगानीकर्ताले ध्यान दिनुपर्ने
शेयर बजारमा लगानी गर्दा, सही अनुसन्धान, विविधीकरण, दीर्घकालीन दृष्टिकोण र नियमित समीक्षा महत्वपूर्ण हुन्छ । यी सिद्धान्त पालना गर्दा जोखिमलाई कम गर्दै उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ । लगानीकर्ताले बजारमा वर्तमानमा देखिएका प्रवृत्तिलाई हेरेर लगानी गर्नुहुँदैन, विगतमा कम्पनीले आर्जन गरेको नाफालाई हेर्नुपर्छ, लाभांश दिने अवस्था र अभ्यासलाई अध्ययन गर्नुपर्छ, कम्पनीको संस्थागत सुशासन र पारदर्शिता हेर्नुपर्छ, शेयर बजारबारे आधारभूत जानकारी लिएरमात्रै लगानी गर्नुपर्छ ।
त्यस्तै, लगानीकर्ताले कम्पनीको ब्यालेन्स सिट (वासलात), नाफा र घाटाको अवस्था, कम्पनीको लगानी र आर्जनका माध्यम, शेयर संरचना र प्रतिशेयर आम्दानीअनुसार हालको बजार मूल्यको विश्लेषण गर्न जरुरी हुन्छ ।
प्रतिक्रिया