युनिक स्पोर्ट्स युवा क्लबले गर्‍यो खानेपानीको मुहान सरसफाइ


बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को युनिक स्पोर्ट्स युवा क्लबले खानेपानीको मुहान सरसफाइ गरेको छ। खानेपानीको मुहान दूषित रहेको पाइएपछि युवा क्लबले शनिबार सफा गरेको हो।

विगत लामो समयदेखि खानेपानीको मुहान दूषित हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्वच्छ खानेपानीको पहुँच सबै जनतामा पुर्‍याउन गाउँलेहरूको सहयोगमा सरसफाइ गरिएको क्लबका सल्लाहकार रतन विकले जानकारी दिए।

वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरिएकाे उनले बताए ।

लामो समयदेखि बिहारडाँडाँ, लुहार बाडा, दाडिमबाडी र टालिखेतका जनता दूषित पानी पिउन बाध्य बनेका थिए । विभिन्न ठाउँबाट बग्दै आयको पानीलाई एक ठाउँमा जम्मा गरी खाने पानीमा मिसाइएकाले समस्या भएको क्लबका अध्यक्ष नवीन सार्कीले बताए। खाने पानीको मुहान बगेर आउने पानीलाई बन्द गरी पुरानो मूलबाट निस्किने पानीलाई आफ्नो टोलमा आउने लाइनमा जोडेको उनको भनाइ छ ।

सर-सफाइमा ध्यान नदिँदा ट्याङ्कीमा धेरै जसो मात्रामा फोहोर माटो लेदो निस्कने र मुहान खुला र बेवारिसे हुँदा सर्प र भ्यागुता भेटिने गरेको नेकपा एमाले जगन्नाथ गाउँ कमिटी सचिव टक्क कामिले बताए।