खराब जीवनशैलीले अनुत्पादक नबनोस् ‘जेन जी’


पहिले मुटु रोगको उपचार गर्न आउनेहरू ६०\७० वर्ष नाघेकाहरू धेरै हुने गरेकोमा अहिले २५ देखि ३५ वर्ष उमेरका युवाहरू पनि प्रशस्तै मात्रामा हृदयाघात भएर आउने गरेको वरिष्ठ मुटु रोग विशेषत्र डा. अवनिभूषण उपाध्यायले बताउनुभएको छ। खराब जीवनशैली र किशोरावस्थामा खाएका मुटुलाई हानि गर्ने जंकफुड, चुरोड, रक्सी आदिका कारण पनि युवाहरूमा मुटु रोगको समस्यामा वृद्धि भएको डा. उपाध्यायको भनाइ छ।

डा. उपाध्यायका अनुसार स्कुल जाने उमेरदेखि नै अभिभावकले फास्टफुड र पोके पत्रु खाना बच्चाहरूलाई दिने गरेको र त्यस्ता खराब खाना खान बानी परेका केटाकेटी अलि ठूला भएर पैसा कमाउन थालेपछि रेस्टुरेन्ट जाने वा घरमै मगाएर खाने गर्नाले कलिलो उमेरमा नै उनीहरूलाई मोटोपन हुने, उच्च रक्तचाप, मधुमेह भई हृदयाघातसमेत हुने घटनामा वृद्धि भएको छ।

किशोरावस्था तथा युवा अवस्थाका जेन जीहरू (१२–२७ वर्ष उमेर) मा फलफूल र हरियो तरकारीहरू बढी खानुपर्छ भन्ने चेतना भएर पनि तयारी र फ्रोजन खानाहरूको उपभोग बढ्दो छ। कतिपय व्यावहारिक कारण र तयारी खाना उत्पादकहरूको आक्रामक बजार प्रवद्र्धन अभियानले गर्दा फास्टफुड र जंगफुडहरूको उपभोग उनीहरूमा बढ्दो देखिन्छ । अघिल्लो जेन एक्स र जेन वाई पुस्तामा प्रायः घरका खानालाई प्राथमिकता दिइन्थ्यो भने वर्तमान जेन जी पुस्ताकाले घरबाहिर खाना खान बढी रुचि राख्ने र घरमै पनि अनलाइनमार्फत् बाहिरका खाना मगाएर खान रमाउने प्रवृत्ति देखिन्छ।

उनीहरूमा घरमा होस् वा बाहिर खाना खाँदा फोटो खिचेर रेकर्ड गर्ने प्रवृत्ति अघिल्लो पुस्ताको भन्दा फरक देखिन्छ। नियमितभन्दा फरक खाना खाँदा फोटो खिचेर डिजिटल प्लाटफर्ममा सेयर गर्नु उनीहरूको अलि फरक विशेषता देखिन्छ। यो पुस्ताको खाना शैलीले फास्टफुड तथा तयारी खाना उद्योगलाई त राम्रो गरेको छ तर उनीहरूको स्वास्थ्यलाई भने जोखिममा पारिरहेको छ। स्वास्थ्य र सरसफाइमा प्रशस्त जानकारीहरू प्राप्त गर्दागर्दै पनि धेरै जेन जीहरूले खराब खानपान र खराब जीवनशैली अपनाएको देखिन्छ।

एकातिर जेन जी पुस्तामा भेजिटेरियन बन्ने, फास्टिङ बस्ने, योग, व्यायाम गर्ने, हाइकिङ, मर्निङ वाक, जिम र जुम्बा जाने प्रवृत्तिको विकास भइरहेको छ भने अर्कोतिर डिस्को थेक, दोहोरी रेस्टुराँ र बियर बारहरूमा रात्रि जीवन व्यतीत गर्ने, कलेज बंक गरेर, रिसोर्ट, रेस्टुराँ र फिल्महलहरूमा जाने प्रवृत्ति पनि विकास भइरहेको छ।

राम्रो जीवनशैली अपनाउनेहरूको शिक्षा, स्वास्थ्य र वृत्ति विकासका गति चुलिँदै गएको छ भने खराब जीवनशैली अपनाउनेहरूले फास्टफुड, जंकफुडका साथै धूमपान र मद्यपान पनि गर्ने गरेकाले उनीहरूको शिक्षा, स्वास्थ्य र वृत्ति विकासमा नकारात्मक असर परिरहेको छ । त्यसमा पनि रक्सीको कुलतमा लागेकाहरूको स्वास्थ्य र अन्य क्षेत्रको प्रगति निकै नै बिग्रिरहेको छ । विश्व स्वास्थ्य संघका अनुसार १५ वर्षसम्मका विश्वका करिब ७ प्रतिशत किशोरकिशोरी अहिले रक्सीको कुलतमा फसेका छन् ।

डा. उपाध्यायअनुसार जुनसुकै पेसामा पनि रक्सीको लत लागेका मानिसहरूले प्रायः राम्रो कार्य क्षमता देखाएको पाइँदैन । त्यसकारण जेन जी समूहको खानपान र जीवनशैलीलाई एकदमै ध्यान दिनुपर्छ । स्कुल अवस्थादेखि खराब बानी लागेको छ भने त्यो पनि छुटाउनुपर्छ । यो समूहका धेरै केटाकेटी आफूलाई ठूलो भइसकेको ठान्छन् र बाबुआमाले भनेको पनि मान्दैनन् । उनीहरूका आफ्नै तर्क हुन्छन् । रक्सी, चुरोट, जंकफुड खाने मानिस बाँचिरहेको छ नखाने खुस्किसक्यो भनेर अपवादका घटना ल्याएर कुतर्क गर्दै आफ्नो सोच सही भएको सावित गर्न खोज्छन् । वैज्ञानिक तर्क र तथ्यांक हेर्नतिर उनीहरू लाग्दैनन् । यो ज्यादै नराम्रो प्रवृत्ति हो ।

डा. उपाध्यायका अनुसार तथ्यांकहरूको आधार लिँदा मुटु रोग योङ जनेरेसनमा आइसकेको छ । किशोरावस्थामा बिगारेको जीवनशैलीले ३०–३५ वर्षको उमेरमा ठूलो असर देखाउँछ। अघिल्लो पुस्ताको किशोरावस्था भन्दा अहिलेको पुस्तामा खराब खानपान र खराब जीवनशैली बढी देखिएको छ। अहिले पनि राम्रो खाना खाने, खराब खाना तिरस्कार गर्न सक्ने, योग जिम जाने, दगुर्ने, हिँड्ने किशोर किशोरीहरूको स्वास्थ्य निकै राम्रो छ। तर, जसले आफ्नो स्वास्थ्यमा ध्यान दिएको छैन उनीहरूको पुस्ता यही उमेरको अघिल्लो पुस्ताभन्दा ज्यादै खराब र अनुत्पादक छ ।

डा. अवनिभूषण उपाध्याय
मुटु रोग विशेषज्ञ

खराब लतमा नलागेका, खराब खाना नखाने, राम्रो जीवनशैली अपनाउने र आफ्नो स्वास्थ्य ठीक राख्ने अहिलेको पुस्ताको कार्य क्षमता, उनीहरूले समाजमा दिने योगदान खराब किसिमको खाना खाने र खराब जीवनशैली अपनाउनेको भन्दा धेरै राम्रो छ । किशोरावस्थादेखि नै खराब खाना खाने र खराब जीवनशैली अपनाउनेहरू कुनै पनि पेसामा माथि गएको प्रायः देखिँदैन ।