भिडियो गेम कमाइको गेम


काठमाडौं ।

नेपालमा पब्जीका साथै अन्य भिडियो गेम खल्ने प्रशस्तै भेटिन्छन्। सानो उमेरदेखि पाका उमेरका व्यक्तिसमेत भिडियो गेममा आकर्षित छन्।

नेपालमै पनि बच्चादेखि पाका उमेरसम्मका मोबाइलमै भिडियो गेम खेलिरहेका हुन्छन्। भिडियो गेमका कारण किशोरकिशोरी पढाइमा भन्दा बढी मोबाइलमा आकर्षित बनेका छन्। जसले गर्दा उनीहरुको पढाइमा असर पनि परिरहेको छ। त्यसो त भिडियो गेम नै खेलेर कमाउनेहरू पनि छन्।

भिडियो गेमलाई प्रतियोगिताको स्वरूप दिइएको छ। नेपाल ई–स्पोर्टस् संघले आधिकारिक रूपमा भिडियो गेम प्रतियोगिता आयोजना गरिरहेको छ। यो प्रतियोगिता कानुनअनुसार नै आयोजना भएको जानकारी दिँदै नेपाल ई–स्पोर्टस् संघका प्रमुख सुमिन श्रेष्ठले भन्नुहुन्छ– ‘यसमा नियम छ, आजभोलि बच्चाहरूले खेलिरहने भिडियो गेममा लागि उमेरको मापदण्ड रहेको छ। त्यसैले, प्रतियोगितामा उमेर किटान गरेर मात्र भाग लिन पाउने छन्।’

उहाँका अनुसार १६ वर्षमुनिका भाइबहिनीलाई खेल्न अनुमति दिइँदैन, यो अन्तर्राष्ट्रिय नियममा पर्छ। त्योभन्दा माथि ५०–६० वर्षकाले समेत खेल्न पाउँछन्। भिडियो गेममा गोली हान्ने, हिंसा गर्ने जस्ता दृश्य धेरै हुन्छन्। तर, यो प्रतियोगितामा हिंसा देखाउन पाइँदैन।

नेपालमा भिडियो गेम प्रतियोगितामा पाँच वटा विधा राखिएको जानकारी दिंदै श्रेष्ठ भन्नुहुन्छ– ‘आईईएसएफमा सामान्य खेल नै खेलिन्छ। तर, एसियन गेममा भने केही नियम लगाउने गरिएको छ। सामान्य खेलमा मान्छे मार्ने, गोली हान्ने जस्ता दृश्य हुन्छन्। यी दृश्य सम्पादन गरिन्छ र प्रतिबन्ध गरिएको हुन्छ।’ सन् २००८ मा अन्तर्राष्ट्रिय ई–स्पोर्टस् महासंघ स्थापना भएपछि ई–स्पोर्टस्ले गेमकै रूपमा मान्यता पाएको हो। ई–स्पोर्टस अन्तर्गत पीसी गेम्स, मोबाइल गेम्स, एआरभीआर गेम्स आदि पर्छन्। नेपालमा यसलाई नराम्रो दृष्टिले हेरे पनि चीन, जापान जस्ता देशहरूमा ई–स्पोर्टस निकै लोकप्रिय छ। यी राष्ट्रका साथै पश्चिमा देशहरूमा पनि लोकप्रिय नै छ।
नेपालमा संघको स्थापना

ई–स्पोर्टस पोपुलर बन्दै गएपछि नेपालमा पनि यसको संघको स्थापना भयो। नेपाल ई–स्पोर्टस् संघले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् महासंघसँग सम्बन्ध प्राप्त गरेपछि एसियन स्पोर्टस महासंघलगायत खेलकुद संघसँग पनि यसले सम्बन्ध स्थापना गरेको छ।

सन् २०१८ देखि संघले बर्सेनि नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप आयोजना गर्दै आएको छ। शुरुमै पाँच विधा राखिएको थियो। उक्त विधामा डोटा–२, सीएस–गो (काउन्टर स्ट्राइक), एमएलबीबी (मोबाइल लिजेन्ड्स बांग बांग), टेक्केन–७ र पब्जी मोबाइल रहेका छन्। संघका अनुसार पब्जीमा सबैभन्दा बढी प्रतिस्पर्धीको सहभागिता रहेको छ।
करोडौं कमाउन सकिने

१४ औं विश्व ई–स्पोर्टस् च्याम्पियनसिप–२०२२ इन्डोनेसियाका बालीमा सम्पन्न भएको थियो। यसको कूल पुरस्कार रकम ५ लाख अमेरिकी डलर रहेको थियो। यो झण्डै ५ करोड रुपियाँ भन्दा बढी हो। २४ राष्ट्रको टोली सहभागी भएको यस प्रतियोगिताको विजेता काजाकस्तानले ५० हजार डलर पायो। दोस्रो हुने बु्रनाईले ३० हजार र तेस्रो हुने जोर्डनले २० हजार डलर प्राप्त गरेका थिए।

इन्डोनेसियामै भएको ग्रान्ड फाइनल्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप–२०२३ मा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। नेपालको पब्जी टिमले दोस्रो भएर २ लाख ९२ हजार अमेरिकी डलर जितेको हो। जकार्तामा २०२३ जनवरी ६ देखि ८ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली डीआरएस गेमिङ टिम टर्कीको एस टू जीसँग पराजित भएको थियो।
के हो त
ई-स्पोर्टस् ?
ई-स्पोर्ट:

भन्नाले विद्युतीय उपकरण प्रयोग गरी इन्टरनेटमार्फत खेलिने गेम भन्ने बुझिन्छ। त्यसो त यो मोबाइलमा खेलेपछि लोकप्रिय भएको हो। तर, पहिले टेलिभिजनमा जोडेर खेल्न सकिने भिडियो गेम, कम्प्युटर गेम आदि खेलिन्थ्यो। पहिले कम्प्युटर आफूले मात्रै खेल्न सक्ने गेममै सीमित थियो। पछि मात्रै दुई वा दुई भन्दा बढी व्यक्तिले खेल्न मिल्ने गेम हुँदै समूहगत रूपमा खेल्न मिल्ने गेमको विकास भयो ।