टीआरसी विधेयकमा सैद्धान्तिक सहमति, सोमबार अन्तिम रुप दिने तयारी


काठमाडौं ।

संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ ।

शुक्रबार विहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको हो । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए ।

‘संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं  । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिरुप दिने कुरा भएको छ,’ उनले भने ।

यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिमरुप दिने गरी आजको बैठक सकिएको बताए । ‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ,’ उनले भने ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले भने । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउन उनको भनाइ छ ।