किन हुन्छ बारम्बार हवाई दुर्घटना ?



नेपाली आकाशले फेरि एउटा दुःखद घटना सामना गर्नुपरेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको दुःखद निधन भएको छ।

विमानस्थलभित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन नसक्दा धेरैजना मृत्युवरण गर्न बाध्य भए । हामीकहाँ कुनै पनि घटना हुनासाथ तत्काल उद्धार हुने अवस्था छैन । सरकारी स्तरमा सूचना संयन्त्रको अभाव र चुस्त–दुरुस्त उद्धार टिमको अभावमा कुनै पनि दुर्घटना हुँदा धेरै नागरिकले अकाल मृत्युवरण गर्नुपर्ने अवस्था छ । बुधबार सौर्य एयरलाइन्सको सो विमानमा रहेकाहरुले त्यस्तै अवस्था भोग्नुपर्‍यो ।

सो जहाज पोखरामा लगेर ‘मेन्टेनेन्स’ गर्ने भनी उडाइएको थियो । नागरिक उड्डयन विभागसँग स्वीकृति लिएर पोखरा विमानस्थलमा एक महिनासम्म राखी मर्मत–सम्भार गर्ने गरी विमान त्यसतर्फ उडाइएको थियो । यसरी मर्मत–सम्भार गर्न लैजान लागिएको विमानमा किन त्यति धेरै मानिस राखियो ? विमान मर्मत गर्न धेरै प्राविधिकहरु चाहिने हो भने पनि उनीहरुलाई अर्को विमानबाट लैजान सकिन्थ्यो । सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षले किन यो विषयलाई गम्भीरतापूर्वक लिन सकेन ? सरकारले यो विषयलाई पनि ध्यानमा राखी आवश्यक छानबिन गर्नुपर्छ।

नेपाली आकाश हवाई उडानका दृष्टिले निकै असुरक्षित छ भन्ने चर्चा चलिरहेको अवस्थामा उडिसकेको विमान विमानस्थलभित्रै एक्कासी दुर्घटना भएपछि यो चर्चालाई बल पुगेको छ । बर्सेनिजसो हवाई दुर्घटनाको त्रासदी व्यहोर्न हामी नेपाली बाध्य छौं। विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, पर्याप्त सूचना संकलन र विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायतका कारण नेपालमा हवाई दुर्घटना बढिरहेको विज्ञहरुको भनाइ छ।

साथै केही दुर्घटना क्याप्टेन र एयरलाइन्स व्यवस्थापनको लापरबाहीका कारण पनि भएको पाइन्छ । हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली एवं प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा पनि नेपालले बारम्बार यस्ता घटनाको सामना गर्नुपरेको देखिन्छ।

बुधबार भएको दुर्घटनालाई एयरलाइन्सको लापरबाहीको रुपमा हेरिएको छ । किनकि यो कुनै भौगोलिक विकटतामा वा आकस्मिक मौसम खराबका कारण भएको दुर्घटना होइन । यस्ता खाले दुर्घटना कमै हुन्छन् । कतिपय देशमा हुने यस प्रकृतिका समान दुर्घटनामा धेरैलाई जीवितै उद्धार गरिएको पाइन्छ । तर नेपालमा भने एयरपोर्टभित्रै दुर्घटना हुँदा पनि सम्बन्धित निकायले समयमै उद्धार गर्न नसक्दा त्यति धेरै मानवीय क्षति भएको विषय गम्भीर र संवेदनशील छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाइसकेकाले सो समितिले घटनाको वास्तविक कारण बाहिर ल्याउला नै । हुन त यसअघि पनि सरकारले हरेकजसो दुर्घटनामा छानबिन समिति गठन गर्दै आएको छ । समितिले आवश्यक सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको भए पनि ती प्रतिवेदनले दिएका सुझावको कार्यान्वयन हुन नसक्दा हवाई दुर्घटना हुने क्रम रोकिन सकेको छैन।

अर्कोतर्फ नागरिक उड्डयन प्राधिकरण सधैँ पूर्वाधारमा मात्रै केन्द्रित हुने र आफ्नो उडान सुरक्षाप्रति जिम्मेवार नहुने प्रवृत्तिले पनि यस खाले दुर्घटना हुने क्रम बढिरहेको तथ्यलाई नकार्न मिल्दैन। नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले त नेपाल विश्वकै असुरक्षित आकाश भएको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ।

यस्तो हुँदा पनि नेपाली सरकारी अधिकारीहरुले हवाई दुर्घटना हुने कारणहरुको पहिचान गरी त्यसको न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गरेको देखिँदैन। अब भने सरकारी निकाय, एयरलाइन्सको व्यवस्थापन पक्ष तथा पाइलटहरु संवेदनशील बन्नै पर्छ।