आज राष्ट्रिय झन्डा आधा झुकाइने


काठमाडौं ।

सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको थियो।

बुधबार काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरत्न शाक्यको सकुशल उद्धार गरिएको थियो।

उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरू रहेका थिए। सरकारले जहाज दुर्घटना छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।