अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

56
Shares

काठमाडाैं ।

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ गरेको छ ।

जसमा मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका-२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका-६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

चितवनको भरतपुर महानगरपालिका-१३ गंगानगर बस्ने ४७ वर्षीय सोम बहादुर विकलाई अवैध लागूऔषध गाँजा २ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  

कैलालीको टीकापुर नगरपालिका-१ भु.पु.सैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से.६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका-१६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो २ सय ३७ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने सर्फदिन अन्सारीले लागूऔषध ओसार पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । हाल फरार अन्सारीको प्रहरीले खोजी गरिरहेको छ । 

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुली तिनपाटन गाउँपालिका-१ घर बताउने २८ वर्षीय धन बहादुर बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाको मेचिनगर नगरपालिका-१० धाईजन ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।