बिचौलियाको पहलमा कांग्रेस-एमाले गठबन्धन बन्यो : प्रचण्ड


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको बताएका हुन् ।

प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए। उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको दाबी गरे। विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ।

‘विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइयो । उनीहरूको हितमा नै यसले काम गर्दछ । हामी सरकार छोड्दा पनि तपाईंहरूले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रूपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्न सक्ने कुराहरू गर्दागर्दा विजेताको रूपमा बाहिर आयौँ,’ प्रचण्डले भने, ‘जो सरकारमा गएका छन्, उनीहरू पराजित मानसिकतामा छन्। उनीहरू रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ।’

उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको पनि उल्लेख गरे।