अमेरिकाको रंगमञ्चबाट नाटकमा डेब्यू गर्दै वर्षा


काठमाडौं ।

अभिनेत्री वर्षा राउतले अमेरिकाको रंगमञ्चबाट नाटकमा डेब्यू गर्ने भएकी छन्। उनले विमल सुवेदीको निर्देशन रहने नाटक हिटलर आउँदैछ मार्फत् रंगमञ्चमा डेब्यू गर्न लागेकी हुन्।

नाटक अमेरिकाको ओहायोको एक्रोनस्थित सिभिक थिएटरमा मञ्चन हुनेछ। विमल सुवेदी र जोयश पाण्डेले लेखेको नाटकमा वर्षास“गै जोयस पाण्डे मुख्य भूमिकामा देखिनेछन्। आइतबार अमेरिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तिको सहभागितामा पत्रकार सम्मेलन गर्दै नाटक मञ्चनबारे जानकारी गराइएको थियो। पत्रकार सम्मेलनमा तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन्।

लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लन्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए। उनले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले विषय बनाएको जानकारी गराए।

उनले २० भन्दा बढी देशमा नाटक मञ्चनको अनुभव रहेको दाबी गर्दै नेपाली सभ्यता, संस्कृति, सोच, क्षमता विश्वबजारमा आफ्नो पहिचान सम्मानपूर्वक राख्नसक्ने भइसकेको बताए। जोयशले आफू निर्देशकका रूपमा स्थापित रहे पनि कलाकारका रूपमा थुप्रै नाटक गरेको स्मरण गर्दै निर्देशन गर्नुअघि आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको जानकारी गराए।

वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगेकी हुन्। हाल रिहर्सल चलिरहेको नाटकमा अभिनय गर्न उत्सुक रहेको उनले बताइन्। ‘नाटकबाट आएका धेरै कलाकारसँग फिल्म काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिलेदेखि नै थियो। तर, यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेकी छु,’ वर्षाको भनाइ थियो।

नाटक अगस्टको २३ तारिकबाट ओहायोको एक्रोनमा मन्चन भई वल्र्ड प्रिमियर हुनेछ। नाटक अमेरिकाकै विभिन्न राज्यसँगै विश्वका अन्य देश तथा नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष एवं नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए। नाटकमा नेपाल, भुटान, अमेरिकालागयत देशका कलाकार तथा प्राविधिक विशेषज्ञ जोडिएका छन्।