निराशासँगै झीनो आशा


अस्थिर राजनीतिले मुलुकमा हरेक वर्षजस्तो सरकार परिवर्तन हुने गरेको छ। यो नेपालको नियति नै बनेको छ। कुन बेला कसलाई सनक चढ्छ, सरकार परिवर्तनको खेल शुरु हुन्छ।

२०४६ सालपछि नेपालमा एकमना सरकार एकपटक बने पनि एउटै दलभित्रका नेताहरु मिल्न नसकेपछि त्यो सरकार पनि विघटन हुन पुगेको थियो । त्यसपछि नेपालमा कुनै पनि दलले पाँच वर्ष सरकार चलाउन पाएका छैनन् । कारण नेपालको विद्यमान संविधान र त्यसमा व्यवस्था गरिएका निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिँदैन। तर पनि दलहरु भने एक–आपसमा झगडामा नै व्यस्त रहँदै आएका छन् । झन्डै चार दशकअघि जनताले लडेर ल्याएको संसदीय व्यवस्था दलका कारण खतरामा पर्दै गएको छ ।

दुई विशाल छिमेकी मुलुकको बीचमा रहेको नेपालमा लामो समयदेखि जारी राजनीतिक अस्थिरताको फाइदा पनि ती दुवै देशले उठाउँदै आएका छन् । अहिले मुलुकको राजनीतिक बागडोर नेपालीको भन्दा पनि विदेशीको हातमा रहेको आरोप लाग्दै आएको छ ।

दिल्ली र पेकिङमा पानी परे काठमाडौंमा छाता ओढ्ने प्रचलन रहेको भन्दै राजनीतिक आलोचकले लगाउँदै आएको आरोप कतै पुष्टि हुने त होइन भन्ने आशंका पैदा भएको छ । दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको छ भने अर्कोतर्फ दलीय नेताको संरक्षणमा भ्रष्टहरुको मनोबल बढ्दै जानुले संसदीय व्यवस्थामाथि नै प्रश्न उठेको छ । दलका नेतामाथि चौतर्फीरुपमा आक्रमण हुनुको कारण पनि सरकारको काम गराइ प्रमुख रहेको पाइन्छ ।

जनता चरम निराशामा छन् । आशा गर्ने ठाउँ कतै छैन । दैनिक लाखौं युवा सुन्दर भविष्यको खोजीमा मध्यपूर्वदेखि अमेरिकासम्म पुगेका छन् । अहिले विश्वका झन्डै १ सय देशमा नेपालीहरु रोजगारीको खोजीमा जानुले पनि नेपालको अवस्था कस्तो छ भन्ने प्रस्ट हुन्छ । देश छोडेर हिँड्नुपर्ने बाध्यता कसले सिर्जना गर्‍यो ? यो सोचनीय विषय भएको छ।

आज दलका नेताहरु देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुर्‍याउने बताउन थालेको पनि दशकौं बित्यो तर नेपाल र नेपालीको चोला फेरिएन । विकास निर्माणको गति झन् कमजोर बन्दै गएको छ । रोजगारीका क्षेत्र पनि लगभग शून्यको अवस्थामा पुगेका छन् । तर नेताका भाषण र दलको घोषणापत्रमा हरेक वर्ष लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने हरेक निर्वाचनका बेला आउने गरेको छ । व्यवहारमा भने त्यसो भएको पाइँदैन ।

निराश नै निराशको अवस्थामा पछिल्लो समय मुलुकमा स्थिर सरकार दिने भनेर मुलुकका दुई ठूला दल मिलेर सरकार गठन गरेका छन् । जनतामा थोरै आशा पलाएको पनि छ । आशासँगै निराशा पनि उत्तिकै छ । अब यो सरकारलाई यो वा त्यो भनेर मुलुक निर्माण गर्ने कामबाट भाग्ने छुट छैन । यो सरकार पनि असफल भयो भने मुलुकका लागि अर्को दुर्भाग्य हुनेछ ।