बालसन्त जगद्गुरुद्वारा शिव मन्दिरमा जलार्पण

56
Shares

उदयपुर ।

 नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सोमबार उदयपुरको त्रियुगा नगरपालिकाको १३ नं वडाको असारीमा रहेको सिद्धेश्वर महादेव र ११ नं वडाको ढिम्किस्थित इन्द्रेश्वर महादेवको मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार पवित्र त्रियुगा नदीको जल चढाएर यस वर्षको सोमबारको शिव पूजन कार्य सुरु गरेका छन् ।

चतराधाम स्थित जगदगुरु मठबाट जगद्गुरु सहितको टोलीले सोमबार बिहान पहिले त्रियुगा नगरपालिका १३ असारीमा रहेको श्रीसिद्धेश्वर महादेवको मन्दिरमा र ११ नं वडाको शिवालयटोल ढिम्की स्थित इन्द्रेश्वर महादेवको मन्दिरमा जल चढाउन जगद्गुरु आउनु हुने खबर पाएपछि स्थानीयको भिड लागेको त्रिनपा १३ की रोजिना पोखरेल नेपालले बताइन् । 

सोमबार बिहानैदेखि यहाँका शिवालयहरुमा भक्तजनहरुको भीड  लागेको थियो भने नेवार समुदायले भक्तजनहरुकालागि टेन्टगाडेर नै स्टल राखेी खानेपानीको व्यवस्थापन गरेको थियो । अघिल्ला वर्षहरुमा पनि श्रावण महिनाको प्रत्येक सोमबार सिद्धेश्वर तथा इन्द्र्रेश्वर महादेवको मन्दिरमा व्यापक भिड हुने गरेको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश कुमार श्रेष्ठले बताए । 

शिवालयमा पुजा गर्नेहरुको भिडभाडका कारण स्थानीयको व्यापार व्यवसाय पनि चलेको छ भने अर्को तर्फ आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम पनि राम्रोसँग फस्टाउनुका साथै मेला पर्व बाहेकका समयमा अन्य दिनमा पनि यस मन्दिरमा दैनिक जसो मानिसहरु घुमफिर गर्न आइरहने गरेका छन् ।

बरुवा नदीको पश्चिमी किनारमा रहेको यस इन्द्रेश्वर महादेव मन्दिर अग्लो ठाउँमा रहेको र गर्मीका समयमा वरिपरीको रुखले शितल हावा दिने भएकोले गाईघाट बाहिरबाट आएका वा अन्य जिल्लाबाट आएका मानिसहरुको धुम्ने गन्तव्यका रुपमा रहेको छ । 

साउन महिनाको सोमबारमा मात्र होइन ठुली एकादसी, जनै पूर्णिमा, रामनवमी, महाशिवरात्रि, तीज लगायतका चाडपर्वका समयमा यस मानव निर्मित इन्द्रेश्वर मन्दिरमा भिडभाडकासाथ मेला लाग्ने गरेको छ भने सिराहा सप्तरी सुनसरी सिन्धुली खोटाङ लगायतका जिल्लाबाट पनि भक्तजनहरु आउने गरेको स्थानीय दिनेश श्रेष्ठले बताए ।