मान्छे नमर्ने कुनै ठाउँ छैन, मर्ने रहर कसैलाई हुँदैन । यो ध्रुवसत्य हो । तैपनि मान्छेहरु मरिन्छ भन्ने ठान्दैनन् । फलस्वरुप रिस, राग, लोभ र मोहमा फसेका हुन्छन् । यसैको कारण मान्छे बाँच्नभन्दा धेरै सम्पत्तिको लोभ गर्छन्, तर किन ? जुन कुरा जीवनमा आवश्यकभन्दा धेरै कामयावी हुँदैन । यसो हुनु राज्यको व्यवस्था र कानुनप्रति अविश्वास हुनु हो । कतिपय मुलुकका नागरिकहरु राज्यप्रति पूर्णरुपमा विश्वास गर्छन् र हाइसन्चोसँग मृत्युवरण गर्छन् ।
यहाँ चर्चा गर्न खोजेको सहज मृत्यवरणको हो । परापूर्व कालमा धर्मात्माहरु मृत्युदेखि डराउँदैनथे। आफ्नो मृत्युको दिन र समयसमेत बताउने गर्थे । र, सहज मृत्यवरण गर्थे भन्ने कहावत सुनिन्छ । यसो हुनु भनेको धर्मकै कारण अर्को जन्म हुन्छ भन्ने विश्वास गरेका हुन्थे । पाप र धर्म, स्वर्ग र नरकका कथाले अनैतिक क्रियाकलाप गर्नुहुँदैन भन्ने कुरामा पूरा विश्वास गर्थे। यसैले शान्तिको वातावरण सृजना हुन्थ्यो पनि । जीवनको अन्तिम समयमा हाँसीखुशीले अर्को जन्ममा भेटौँला है भनी बिदावादी हुने गर्थे। यसैले पनि मर्ने मान्छेहरु यो लोक छाडेर परलोकमा जान लागेका हुन् भन्ने महसुस गर्थे र सहज मृत्युवरण गर्दथे पनि । परिवारले पनि अन्तिम इच्छा सोधपुछ गरी त्यो इच्छा पूरा गर्ने बाचा गर्दथे । अनि भगवान्को नाम जप्न भन्दै शुद्ध र सफा ठाउँ वा जलाशयमा लैजान्थे । मान्छेको मृत्युवरणका बारेमा जनमानसमा धेरै कुरा सुनिन्छ । फलानाको मरण अति राम्रो भयो, फनाना त कति भाग्यमानी रहेछ, सबैसँग भेटघाट गर्न पायो आदि । तर, अबको दिन त्योभन्दा धेरै फरक देखिन्छ ।
मन, मस्तिष्क र आत्माको एक–अर्कासँग अन्तर्निहित सम्बन्ध हुन्छ भन्ने विज्ञानको भनाइ छ। तर धर्मशास्त्रले शरीरको सबै अंग मर्दा पनि आत्मा मरेको हुँदैन भन्छ । त्यही आत्मा मृत्युपछि अर्को लोकमा जन्म लिन जान्छ भन्ने जनविश्वास रहेको छ। आत्मा अलौकिक अदृश्य शक्ति हो भनिन्छ । शरीरको सबै अंग आराम गर्दा पनि मुटु र फोक्सो चलिरहेको हुन्छ । त्यसरी चलाउने काम तिनै आत्माले गरेको हुन्छ भन्ने जनविश्वास छ । यसैले संकटको बेलामा सबैले आत्मबल निकाल्नुपर्छ भन्छन् । मान्छेको मन शरीरभित्र कुन ठाउँमा हुन्छ ? भन्ने प्रश्नमा न्यूरोलोजिस्ट डा. सुनिल कोइराला बताउनुहुन्छ, ‘मन र आत्मा भौतिक शरीरमा कतै पनि भेटिँदैन तर मनचाहिँ मस्तिष्कबाट पैदा हुन्छ । हामीले कुनै कुरा देख्यौं, सुन्यौं भने त्यो पहिला मस्तिष्कमा पुग्छ । त्यसैले भावनात्मक कुरालाई हामी मन र आत्मासँगै जोड्छौं ।’ यसको मतलब मन–मस्तिष्कको एउटा उपज हो, यसैले यो सपनाजस्तै जताततै पुग्छ भन्ने विज्ञहरु बताउँछन् ।
मृत्युको समयमा मानिस गहिरो निद्रामा परेजस्तै चेतना हराउने र सपना देख्न थाल्ने भन्ने कुराको अनुभव यस्तो छ : कृषि व्यवसाय गर्नुहुने मेरा मीतबुबा क्षेत्रजंग पाण्डेको मृत्युको बेलामा अन्तिम वाक्य ‘गाईबाख्रा धपाउनू’ भन्ने थियो । यसपछि उहाँले प्राणत्याग गर्नुभएको थियो । त्यस्तै मेरी काहिँली आमा पूर्णमाया मास्के पनि बाख्रापालन गरी एक्लो जीवन बिताउनुहुन्थ्यो । उहाँको पनि प्राणत्याग गर्ने बेलाको अन्तिम वाक्य ‘बाख्रा धपाउनू’ भन्ने थियो । यसको मतलब मृत्युवरणको अन्तिम समय गहिरो निद्रामा सपना देख्ने र पुराना कुराहरु सम्झने रहेछन् भन्ने भन्ने हो ।
अझै पनि धामीझाँक्रीले मरणेपरान्त आत्मालाई बोलाउने गर्छन् र आत्मासँग दुःख–सुखका कुरा सोध्ने गर्छन् । पितृ आत्माको चित्त बुझाउनुपर्छ भनेर विभिन्न दानधर्म र श्राद्ध गर्ने गरिन्छ । यसलाई हामी आत्मसन्तोष, आत्मबल, आत्मशान्तिका लागि हो भनेर पनि मान्ने गर्छौं । यसै कारण आत्मा एउटा अदृश्य शक्ति हो भन्नुपर्छ ।
सत्ययुगमा पनि यदाकदा बदमास नभएका होइनन् । तर तिनलाई पनि हीनताबोध भने हुने गरेकोले पश्चात्ताप गर्दै प्रायश्चित्त गर्ने गर्छन् । परम्पराको चलन मान्छेको मत्युवरण प्रायजसो घरमा हुने गथ्योँ । यही सन्दर्भमा, केही वर्षअघिको कुरा हो । गोरखा लिगलिग, बोहोरा गाउँका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा मृत्युअगाडि आफूले केटाकेटीको बेलामा खाएको ढुंगेधाराको पानी खान हेलिकोप्टर चढेर गाउँ पुगेका थिए । पुरानो जन्मघरको पिँढीमा सुतेर पानी खाएपछि हँसिलो अनुहारमा आफन्तहरुसँग बिदावारी भएका थिए । शायद मानव–मस्तिष्कका बारेमा जानकारी भएकाले थप जानकारी दिनका लागि होला उनले मर्ने बेलामा पनि परिवारलाई भनेका थिए, ‘अबको बाँकी यात्रा म एक्लै गर्छु, अरु थप समय दुखाइ सहन सक्तिन ।’ यो कुराले पनि मानिसले मृत्युपछि पनि यात्राको तय गर्छ भन्ने दर्शाउँछ । यसैले मान्छेले मत्युलाई सहजै स्वीकार्न सक्ने उचित वातावरण र व्यवस्थापनको निर्माण गर्नु अत्यावश्यक देखिन्छ ।
अब नयाँ खोजको प्रसंग पनि यहाँ जोड्न चाहन्छु । अमेरिकन मेडिकल एसोसिएसन जर्नल– नोभेम्बर १५, २००० को एउटा लेखमा असल मृत्युवरणको कुनै व्याख्या त गरिएको छैन तर गुणस्तरीय जीवनको अन्तिम क्षण सुखद बनाउनु एक गतिशील प्रक्रिया हो भनिएको छ । जुन कुरा बिरामी, परिवार र स्वास्थ्य सेवामा संलग्न हुनेको बीचमा समझदारी गरिन्छ । यसमा जीवनको अन्तिम क्षण भनेको गुणस्तरीय व्यवस्थापन र असल मृत्युवरणका नौ सिद्धान्त उल्लेख गरिएका छन् :
१. मर्ने बेलामा दुखाइ खप्न नपरोस् ।
२. शान्तिपूर्वक ईश्वरको साथमा छु भन्ने महसुस होस् ।
३. मर्ने बेलामा सबै परिवार साथमा होऊन् ।
४. मर्ने बेलामा मानसिकरुपले सचेत होेस् ।
५. वैकल्पिक उपचार विधिहरुको पालना होस् ।
६. मर्ने बेलामा आर्थिक वृत्त सहज होस् ।
७. जीवन अर्थपूर्ण रहेको महसुस होस् ।
८. मर्ने बेलामा जीवन विवादरहित होस् ।
९. मृत्युवरण आफ्नै घरमा होस् ।
यस लेखमा उल्लेख गरिएको छ, प्राय बिरामीले आध्यात्मिकतामा बढी ध्यान दिएका हुन्छन् । परमेश्वरलाई सम्झेर प्रार्थना गर्दै शान्ति चाहन्छन् । ईश्वरको साथमा शान्ति र दुःखाइ नहुनु मुख्यतया बिरामी र परिवारको चाहना हुने गर्छ । जे भए पनि मेडिकल जर्नलको सर्वेक्षणले के बताएको छ भने, जीवनको अन्तिम समय सामाजिक कुरामा भन्दा आफ्नै समस्या समाधान वा आध्यात्मिक अभिव्यक्तिमा ध्यान दिने कुरा हुन्छ ।
अहिलेको मृत्युवरणको परिवेशका बारेमा पनि केही चर्चा गर्नु उचित ठान्छु । स्वास्थ्य विज्ञानको कुरा गर्नुपर्दा चमत्कारै चमत्कार छ भन्नुपर्छ । वैज्ञानिकहरु ब्रह्माण्डभित्र मान्छे नमर्ने ठाउँको खोजीमा लागिरहेका छन् । यो कति सम्भव छ भन्ने कुराचाहिँ भविष्यले बताउनेछ । तर तत्कालको परिवेशलाई हेर्ने हो भने आफ्नो घरमा मृत्यु हुनेको संख्या ज्यादै न्यून हुन थालेको छ । मृत्युको बेलामा परिवारले कुनै न कुनै अस्पताल पुर्याएका हुन्छन् । अन्तिमको समयमा आफ्नो संस्कारअनुसार दानधर्मको कुरा त परै जाओस्, आफन्तले भेट्नसमेत पाउँदैनन् ।
परिवार र डाक्टर भने नबाँच्ने भएपछि पनि आशाले नानाथरीका परीक्षण गरिरहेका हुन्छन् । यसरी बिरामी र परिवारले दुःख त पाउँछन् नै, पैसाको पनि सत्यानाश गर्छन् । तर केका लागि बचाउन चाहन्छन् भन्ने प्रश्नमा भने मायाबाहेक कुनै कुरा देखिँदैन । आफू पनि ६ दशकसम्म स्वास्थ्य क्षेत्रमा विताएको नाताले केही अनुभव बताउन चाहन्छु । कुनै पनि स्वास्थ्यकर्मीले रोग पत्ता लगाएपछि रोगअनुसारको औषधि लेख्नुपर्छ । यो कुरा हिप्पोक्र्याटिक ओथले पनि बताउँछ तर औषधि लेख्ने बेलामा कुनै बिरामीले ‘मसँग पैसा छैन डाक्टर साहेब, थोरै मात्र औषधि लेखिदिनोस्’ भन्ने गर्छन् । रोगले धनी र गरिब भन्दैन, औषधि एकै खालको लाग्छ । यति बेला चिकित्सकलाई धर्मसंकट हुन्छ । औषधि लेख्नुपर्ने एउटा, बाध्यात्मक कुरा अर्को । यही कारण राज्यले स्वास्थ्य उपचारमा निःशुल्कको व्यवस्था गर्नुपर्छ ।
मान्छे मर्ने बेलामा दुखाइ, सास्ती त छँदै छ, परिवारको मायाले पनि बिरामीमा चिन्ता बढ्छ भन्ने कुरा मेरो एउटा अनुभव छ । वि.सं. २०४८ को कुरा हो, बुबा क्यान्सरको रोगले पीडित हुनुहुन्थ्यो । हिन्दु धर्मअनुसार दशदान र वैतरणी दान गर्दाखेरि उहाँले भन्नुभएको थियो, ‘बाबु ! दान गर्ने पैसा राख्न आमालाई भन, तिमीले दानमा धेरै पैसा राख्छौ ।’ मृत्युको मुखमा पुगेका बुबालाई पनि पैसाको माया हुनु शायद परिवारका लागि होला भन्ने ठानेको छु । यसरी चिन्ता लिँदाखेरि मृत्युवरणलाई सकस हुन सक्ने देखिन्छ ।
सहज मृत्युवरणका बारेमा न्यूरोसर्जन डा. वसन्त पन्त भन्नुहुन्छ, ‘रोग निको नहुने भइसकेपछि बिरामीलाई उचित व्यवस्थापनको खाँचो हुन्छ । मर्ने बेलाका बिरामीले चिन्ता र दुखाइ सहन नपरोस्, खुशीसाथ मत्युवरण गर्न सकोस् ।’ आजकल धेरै निवृत्त वृद्धावस्थाको जीवन झनै असहज भएको देखिन्छ । यसको सहजताका लागि पनि डा. वसन्त पन्तज्यूको यो भनाइ सान्दर्भिक छ।
अन्ततः मान्छे सहजै मृत्युवरण गर्न तयार हुँदैन । यसर्थ, कृत्रिम श्वासप्रश्वास प्रक्रियाबाट पनि केही समय वा दिनका लागि बचाउने गरेको पाइन्छ । तर उमेर पुगेका वृद्धहरुलाई यो तरिकाबाट बचाउनुले कुनै अर्थ राख्दैन । जबरजस्ती किन बचाउनुपर्ने ? यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । कुनै पनि मुलुकका नागरिकले मृत्यसँग नडराई सहज मृत्युवरण गर्न पाउनुपर्छ । यसका लागि राज्यले निम्न कुराको सुनिश्चितता गराउनुपर्छ ।
(१) परिवार सहजसँग बाँच्न पाउँछन् भन्ने कुरा सरकारले सुनिश्चितता दिनुपर्छ । यसले गर्दा परिवारले भविष्यमा दुःख पाउँदैनन् भन्ने कुरामा मृत्युवरण गर्नेलाई आनन्द होस् ।
(२) निको नहुने रोग लागेका वा शरीरका अंगहरुले काम नगर्ने पक्का भएका बिरामीलाई अस्पतालले थप खर्च नगराई घरमा वा डा. वसन्त पन्तले भनेजस्तो स्याहार केन्द्रमा लैजाने सल्लाह दिने वातावरण हुनुपर्छ ।
(३) मृत्युको नजिक पुगेका मान्छेलाई प्रायजसो दुखाइले असहज बनाएको हुन्छ । यसैले नदुख्ने औषधि तथा केही समय बाँच्नका लागि तागतिलो खाना दिने अनि स्याहारसुसार तथा हेरचाह गर्ने ठाउँको व्यवस्था सरकारले गर्नुपर्छ । ताकि उसलाई मृत्युवरण गर्न कुनै असहज नहोस् । किनकि परिवारले यो सबै व्यवस्था गर्न भ्याउँदैनन् र सक्तैनन् पनि ।
अन्त्यमा, सरकारले जनताको बाँच्ने अधिकार सुनिश्चित गराउन शिक्षा, स्वास्थ्य, बाँच्ने आधार र सुरक्षाको व्यवस्था निःशुल्करुपमा उपलब्ध गराउनुपर्छ । यसो भाएमा मात्र मानिसहरु सहज मृत्युवरण गर्न सक्छन् ।
प्रतिक्रिया