सरकारले गठन गर्‍यो मन्त्रिपरिषद्का ५ समिति, यी हुन संयोजक 


काठमाडौं ।

सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी संयोजक तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको छ । बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई महत्त्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ।

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेललाई संयोजक तोकको छ।

यस्तै प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखकलाई तोकिएको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए।