नागरिकता वितरणसम्बन्धी कार्यविधि निर्माणमा ढिलाइ

196
Shares

–महिनौं बितिसक्दा पनि मस्यौदा स्वीकृत भएन
–आमाको नाउँमा नागरिकता पाउने ऐनमा उल्लेख

सुनील महर्जन, काठमाडौं
गृह मन्त्रालयले नागरिकता वितरणसम्बन्धी कार्यविधिको निर्माणमा ढिलाइ गर्दा नागरिकतासँग जोडिएका व्यावहारिक जटिलताहरूलाई अझै समाधान हुन सकेको छैन।

नागरिकता वितरणसम्बन्धी कार्यविधि बनाउन शुरू गरिएको महिनौं दिन बितिसक्दा पनि त्यससम्बन्धी मस्यौदा स्वीकृति भएर आएको छैन । नागरिकतासम्बन्धी ऐन, र नियमावलीअनुसार मन्त्रालयले चार महिनाअघि मस्यौदा लेखनको काम थालेको थियो । मन्त्रालयले कार्यविधि तयार गरी सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी एकदेव अधिकारीले बताउनुभयो । ‘कानुनबाट सहमति प्राप्त भएपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने छौं’ –उपसचिव अधिकारीले भन्नुभयो ।

गृह मन्त्रालय नागरिकता ऐन २०७९ र नागरिकतासम्बन्धी नियमावली २०८० बमोजिम नागरिकता वितरण कार्यलाई प्रभावकारी र त्यसमा खटिने कर्मचारीलाई अझ स्पष्ट पार्न कार्यविधि चाहिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका अस्पष्ट, व्यवहारमा परेको कठिनाइलाई सहजीकरण गर्न कार्यविधि आवश्यक रहेको प्रवक्ता भट्टराईको भनाइ रहेको छ।

मन्त्रालयले कार्यविधि निर्देशिकाको मस्यौदा तयार गरी देशभरका प्रमुख जिल्ला अधिकारीहरू विभिन्न विज्ञ, सरोकारवालाबाट पनि सुझाव लिएको थियो । ‘कार्यविधिमा कुन प्रकारको नागरिकता कसरी वितरण गर्ने, त्यसका लागि के के कागजात चाहिन्छ?, कुन कुन कागजात रुजु गर्ने जस्ता कुरा समेटिएको छ। ऐनको तुलनामा नियमावली अलि विस्तृत हुन्छ। नियमावलीको तुलनामा कार्यविधि विस्तृति र व्याख्या गरिएको हुन्छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो ।

वंशजको आधारमा नागरिकता प्राप्तिको लागि ऐन र नियमावलीमा भएको व्यवस्था र त्यसको कार्यविधि, प्रमाण पेस गर्न नसकेकाहरूलाई वंशजको नागरिकता प्रमाणपत्र वितरणसम्बन्धी व्यवस्था, त्यसैगरी पितृत्व र मातृत्वको ठेगान नभएकालाई दिइने नागरिकता, जन्मको आधारमा नागरिकता प्राप्ति र प्रमाण पेस गर्न नसक्नेलाई जन्मका आधारमा नागरिकता दिने, अंगिकृत नागरिकता प्राप्तिसम्बन्धी व्यवस्था, नागरिकता प्रमाणपत्र प्रतिलिपि दिँदा अपनाउनुपर्ने व्यवस्था, नागरिकता प्रमाणपत्रको अभिलेख राख्ने, गैरआवासीय नेपाली नागरिकता लिएका सन्तानको हकमा कुन प्रकारको नागरिकता पाउनेजस्ता

व्यवस्थालगायत विषयमा कार्यविधि अझ बढी स्पष्ट तुल्याउने पनि प्रवक्ता भट्टराईको भनाइ रहेको छ। ‘ऐनमा आमाको नाउँमा नागरिकता पाउने भनिएको छ। त्यो खासै कार्यान्वयनमा आएको छैन। मातृपितृत्व ठेगान नभएको विषय पनि त्यस्तै भइरहेको छ। यस्ता विषयमा कार्यविधि बोलेको छ’ –गृहका एक अधिकारीले भने ।

आमाको नामबाट मात्र नागरिकता पाउन चारओटा शर्त भने ऐनले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ।

बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान ऐनमा छ। तैपनि यो विषय कार्यान्वयन गरेको पाइएको छैन। कार्यविधि बनेपछि यी विषयहरू कार्यान्वयनमा आउने पनि मन्त्रालयले जनाएको छ।