सचिवहरूलाई प्रधानमन्त्रीले हौस्याए, जोस्याए र सचेत गराए

महिनैपिच्छे प्रगति योजना सुन्न इच्छुक


सागर पण्डित, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई निर्देशन दिँदै हौस्याउनुमात्रै भएन, जोस्याउँदै सचेतसमेत पार्नुभएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको शुभकामना ग्रहणपछि प्रधानमन्त्री ओलीले केही काम गरेर देखाउन र नयाँ कीर्तिमान कायम गर्न सचिवहरूलाई निर्देशन दिनुभयो।

उहाँले मन्त्रालयमा बसेर सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनतासमक्ष विकास, सुशासन, सेवा सुविधा पुर्‍याउने मुख्य काम र दायित्व सचिवहरूकै भएको स्पष्ट पार्नुभयो ।

अधिकांश सचिवहरूलाई सधैं मिटिङमात्रै गर्ने तर उपलब्धिमूलक काम गर्न नसक्ने आरोप लाग्दै आइरहेको छ । छाप छोड्ने र सुकीर्ति फैलने गरी काम गर्ने सचिवहरू औंलामा गन्न सक्ने मात्रै छन् । सो तथ्यलाई राम्ररी बु्झ्नुभएका प्रधानमन्त्री ओलीले सचिवहरूलाई मुलुकमा समृद्धि कायम हुने गरी र जनतामा छाप छोड्ने र आफ्नो सुकीर्ति फैलने गरी काममा खट्न आग्रह गर्नुभयो । उहाँले उच्च मनोबलका साथ दिगो विकास कायम गर्ने र जनतामा आशा जगाउने गरी उच्च मनोबलका साथ कार्यथलोमा खट्न सचिवहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई पनि उच्च नैतिकताका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार मध्याह्न १२ बजे प्रधामन्त्री केपी शर्मा ओलीलाई सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरुले शुभकामना दिने र त्यसलगत्तै प्रधानमन्त्रीले सचिवहरूलाई विशेष निर्देशन दिने गरी कार्यक्रम आयोजना गरेको थियो।

सचिवहरू निर्धारित समयभन्दा केही चाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । चौथोपटकसम्म प्रधानमन्त्री बनिसक्नुभएका ओलीले यसअघिका यस्तै कार्यक्रममा लामो समयसम्म निर्देशन दिएको स्मरण गरेका सचिवहरूले यसपटक पनि प्रधानमन्त्रीले लामै समयसम्म बोलेर निर्देशन दिने अनुमान गरेका थिए । तर, प्रधानमन्त्री ओलीले बढीमा ४० मिनेटमा आफ्नो निर्देशन मन्तव्य सक्नुभएको थियो ।

‘प्रधानमन्त्रीले निर्देशन दिने भनेपछि झण्डै दुई घण्टाको समय छुट्याएर गएका थियौं, तर उहाँले निकै सटिक निर्देशन दिएर ४० देखि ४५ मिनेटमा कार्यक्रम सक्नुभयो’ –कार्यक्रममा सहभागी एक सचिवले नेपाल समाचारपत्रसँग भने । ती सचिवका अनुसार यसपटक प्रधानमन्त्रीले निर्देशन दिने क्रममा बढी गफ गर्नुभएन, सचिवहरूले के गर्ने र कसरी अघि बढ्ने विषयमा केन्द्रित रहेर सटिक मन्तव्य राख्नुभएको थियो ।

‘प्रधानमन्त्रीले निर्देशनका क्रममा सबै सचिवहरूलाई हौस्याउँदै जोस्याउने काम मात्रै गर्नुभएन, देश र जनताको काममा समर्पित भएर लाग्न सचेत पार्दै आफ्नो सुकीर्ति फैलने गरी काम गर्नसमेत विशेष निर्देशन दिनुभयो’ –ती सचिवले भने । प्रधानमन्त्रीले दिनुभएको निर्देशन सुुन्दा उहाँमा सबैलाई समेटेर लैजानुपर्ने भावनाको विकास भएको र सबैसँग मिलेर काम गर्दै परिणाम दिनमा नै दत्तचित्त भएर लागेको पाइएको ती सचिवले अनुभूति सुनाए। प्रधानमन्त्रीले सचिवहरूले पदचिह्न छोड्ने, सुकीर्ति फैलने, ग्राफ माथि जाने, नयाँ कीर्तिमान कायम गर्ने गरी आफ्नो जिम्मेवारीलाई गन्तव्यमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभएको ती सचिवले बताए ।

निजामती सेवामा काम गर्ने इमान्दार व्यक्तिहरू सधैं चेपुवामा पर्ने, बेइमानहरू सम्मानित र पुरस्कृत हुने, कानुन उल्लंघन हुने र आफ्नो स्वार्थका लागि जेसुकै गलत कर्मसमेत गर्न तयार रहने प्रवृत्ति संक्रामक रोगजस्तै फैलँदै आएको छ । यस्तो निजामती सेवामा संक्रामक रोग फैलाउनुको मुख्य दोष सचिवहरूमाथि नै लाग्दै आइरहेको छ।

त्यसप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पालामा काम गर्नेहरूको इमानलाई मर्न नदिने, बेइमानीहरूलाई कुनै हालतमा सम्मानित नगर्ने, कानुन उल्लंघन हुन नदिने प्रतिबद्धता जनाउँदै सचिवहरूले पनि सोहीअनुसार कार्यसञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्रीले सचिवहरूसँग महिनैपिच्छेको प्रगति योजना सुन्न चाहेको बताउनुभयो।

सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन गरी विकास योजना र सेवाप्रवाहलाई प्रभावकारी बनाउने प्रमुख काम निजामती प्रशासनअन्तर्गत रहेको कर्मचारीयन्त्रको हो । सचिवहरू यसका मुख्य हाकिम र हर्ताकर्ता हुन् । सचिवहरूको भूमिका प्रभावकारी हुन नसक्दा सरकारको नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आइरहेको छ ।

यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भएको पुँजी र बजेटको अत्यधिक उपयोग गर्दै पुँजीगत खर्च न्यून हुने परिपाटी अन्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग मिलेर राष्ट्रलाई गति दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, नीति कार्यक्रम कार्यान्वयन गर्ने प्रमुख दायित्व सचिवहरूकै भएकाले सचिवहरू बढी जिम्मेवार, उत्तरदायी र संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

सचिव तथा आम कर्मचारीहरू माथि कामचोर प्रवृत्ति अत्यधिक रहेको र यथास्थितिवादमा रमाउने गरेको आरोप लागिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद्को कार्यकाल सवा तीन वर्षको भएकाले सो अवधिसम्म असाधारण किसिमले काम गरेर परिणाम निकाल्नुपर्ने अवस्था रहेको भन्दै सोहीअनुसार काममा खट्न सचिवहरूलाई निर्देशन दिनुभयो । ‘एक मिनेट समय पनि खेर जान दिनुहुँदैन, हरेक दिन एक कदम अघि बढ्नुपर्नेछ, सम्पूर्ण समय सदुपयोग गरी सही ढंगले प्लान वेमा काम गर्नुपर्ने छ’ –प्रधानमन्त्रीले सचिवहरूको ध्यानाकृष्ट गराउँदै भन्नुभयो ।

मुलुकमा बेरोजगारीको समस्या अत्यधिक छ, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र रोजगारी सिर्जना गर्न वर्षौंदेखि उदासीन रहँदै आएकाले युवाहरू विदेश पलायन हुन बाध्य भइरहेका तथ्यहरूसमेत उजागर भइरहेका छन् ।

यस्तो अवस्थालाई समेत विश्लेषण गर्दै प्रधानमन्त्री ओलीले अब राजनीति र प्रशासन दुवै मिलेर उद्यमशीलतामा जोड दिनुपर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि अहिलेको अहम् आवश्यकता भएको स्पष्ट पार्नुभयो । कान्लाकान्लामा कपास फल्ने मुलुकमा खाद्यन्न आयात गर्नुपर्ने दुःखदायी अवस्थाको अन्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रियता कमजोर हुँदै गइरहेको समयमा प्रधानमन्त्री ओलीले राष्ट्रियता नारामा नभएर व्यवहार र भावनामा प्रतिबिम्बित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रधानमन्त्रीले सचिवहरूसँग उठाएका महत्वपूर्ण विषय
–काम गर्नेको इमान नमरोस्
–बेइमानहरू सम्मानित नहून्
–कानुन उल्लंघन नहोस्
–पदचिह्न छोड्ने र सुकीर्ति फैलने गरी काम होस्
–महिनैपिच्छे प्रगति योजना सुन्न पाइयोस्
–काममा नयाँ कीर्तिमानी बनाउनुस्
–सुशासन, विकास र सेवा प्रवाह जनतामा पुर्‍याउने तपाईंहरू नै हो
–उत्पादन, उत्पादकत्व वृद्धि र उद्यमशीलतामा जोड दिनुस्
–दिगो विकास गन्तव्यमा पुग्ने गरी काम गरौं
–उच्च मनोबल लिएर काम गर्नुस्