भोलि मौद्रिक नीति, विगतको तुलनामा लचक हुने सम्भावना


काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रबार दिउँसोसम्म जारी गर्ने गरी सघन छलफलमा जुटेको छ। नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग गभर्नर महाप्रसाद अधिकारीको छलफलपछि राष्ट्र बैङ्क मौद्रिक नीति जारी गर्ने तयारीमा जुटेको हो।

नयाँ सरकार गठन हुने चर्चासँगै मौद्रिक नीतिको समय पनि पछाडि धकेलिएको थियो। सामान्यतया बजेट आएको एक महिनामा मौद्रिक नीति ल्याउने प्रचलन छ। तर, यस पटक बजेट आएको डेढ महिनापछि मौद्रिक नीति ल्याउन लागिएको छ। मौद्रिक नीतिलाई अन्तिम तयारी गर्न गभर्नर अधिकारी नेतृत्वको व्यवस्थापन समूह बुधबारदेखि लागेको छ।

आज बिहीबार अर्थमन्त्रीलाई मौद्रिक नीतिको ब्रिफिङ गर्ने र अर्थमन्त्रीको सुझावलाई समेटेर भोलि शुक्रबार राष्ट्र बैङ्क सञ्चालक समितिले निर्णय गरेपछि जारी गर्ने तयारी भइरहेको राष्ट्र बैङ्क स्रोतले बतायो। सरकारको वित्तीय नीतिका रूपमा मौद्रिक नीति लिइन्छ। यसकै आधारमा एक वर्षमा सरकारको वित्तीय नीति कस्तो हुने स्पष्ट हुनेछ।

यस पटकको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने गरी आउने गभर्नर अधिकारीले बताउँदै आउनुभएको छ। विशेष गरी ऋणको जोखिम भार कम गर्ने, घर कर्जाको सीमा बढाउने, खराब कर्जामा एकातिर प्रोभिजनमा लचकता अपनाउने, निर्माण क्षेत्रलाई सहजीकरण गर्ने, डिजिटल बैङ्कको लाइसेन्स खुलाउने लगायतका विषय समेट्ने स्रोतले जनायो।

मौद्रिक नीति जारी गर्नु अघि राष्ट्र बैङ्क ३० भन्दा बढी सरोकार समूहसँग छलफल र सुझाव लिएको छ।