यस वर्ष झन्डै तीन हजार कर्मचारी भर्ना गर्दै लोकसेवा

कुन–कुन पदमा खुल्दै ?


काठमाडौं ।

लोकसेवा आयोगले २०८१/०८२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरेको तालिकाअनुसार झन्डै ३ हजार पदमा कर्मचारी भर्ना गर्ने तयारी आयोगको छ।

आयोगले अघिल्लो आर्थिक वर्षमा ३ हजार ३ सय ५७ पदका लागि दरखास्त माग गरेको थियो। जसमा १ हजार ९९ जना महिला र २ हजार ५ सय ७६ जना पुरुष सिफारिस गरेको थियो । यस आर्थिक वर्षमा ३ हजारभन्दा बढी कर्मचारी भर्ना गर्ने आयोगको तयारी रहेको लोकसेवा कार्यालयले जनाएको छ ।

आयोगले सरकारी कर्मचारी पदपूर्ति गर्न नयाँ आर्थिक वर्ष शुरू भएसँगै नयाँ कर्मचारी भर्नाका लागि बुधबार सूचना निकालेर वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा निजामती कर्मचारीदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र संगठित संस्थाहरूको कार्यतालिका समेटिएको छ । जारी सूचनामा राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने उल्लेख छ ।

त्यस्तै, विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र संख्या निर्धारण गरी त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाएको छ । जसको लिखित परीक्षा फागुन–चैत र अन्तरवार्ता चैत–वैशाखमा गर्ने आयोगले जनाएको छ ।

राजपत्रांकित द्वितीय श्रेणीको कति संख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस–माघमा परीक्षा लिएर वैशाखमा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गर्ने कार्यतालिका उल्लेख छ । त्यस्तै, स्वास्थ्य सेवा ११औं र नवौं तहको विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तर्वार्ता भदौदेखि वैशाखसम्मको समय तालिकाअनुसार हुनेछ । निजामतीतर्फ विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगको तालिका छ।

त्यस्तै, नेपाल प्रहरीको प्रहरी जवान (प्राविधिक) देखि प्रहरी निरीक्षक र सशस्त्र प्रहरीको खुलातर्फ जवानदेखि प्रहरी उपरीक्षक (एसपी) प्राविधिकसम्मको कार्यतालिका भदौबाट शुरू गरेर तहअनुसार आगामी जेठभित्र आयोगले अन्तर्वार्ताको समय निर्धारण गरेको छ । राष्ट्रिय अनुसन्धानको सहायक सूचकदेखि अनुसन्धान सहायक र अधिकृतसम्म खुलाउने भएको छ।

त्यसबाहेक संगठित संस्थातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल आयल निगम, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, व्यापार निकासी प्रवद्र्धन केन्द्र, सांस्कृतिक संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोष गुठी संस्थानलगायतको पनि कहिले र कति संख्यामा सूचना प्रकाशन, परीक्षा र लिखित परीक्षा गर्ने भन्ने आयोगको सूचनामा उल्लेख छ ।

निजामती सेवा नियमावली २०५० अनुसार पद रिक्त भएको ७ दिनभित्र लोकसेवा आयोगमा कर्मचारीको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ। जसमा व्यवस्थापिका संसद्, नेपाल स्वास्थ्य सेवा, राष्ट्रिय मानवअधिकार सेवा, निजामती सेवा, सुरक्षा निकाय, संगठित संस्था १०५ भन्दा बढी सरकारी कार्यालयको परीक्षा लोकसेवा आयोगले लिने गरेको छ। लोकसेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगार्इंले लोकसेवाले जारी गरेको कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्ने बताउनुभएको छ।