नागरिकमा पलाएको आशा


संसद्का दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले सोमबार नै पूर्र्णता पाएको छ । नेपालमा दलहरुबीच सहमति नहुँदा मन्त्रिमण्डलले पूर्णता पाउन लामो समय लाग्ने गरेको परम्परा यसपटक भने तोडिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि मुलुकमा एकथरी मानिसमा उत्साह छाएको छ भने अर्का थरी मानिसहरु यो सरकारले केही गर्न नसक्ने भन्दै आलोचना गर्न थालेका छन् । खास गरी दुई ठूला दलका शीर्ष नेताहरुले सरकार गठनदेखि नै मुलुकमा जनतामा प्रभाव पर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुले चाहिँ केही आश गर्ने ठाउँ बाँकी रहेको देखिन्छ ।

मुलुकले सबै प्रकारका संसदीय अभ्यास गरिसकेको भए पनि एमाले–कांग्रेसबीचको सरकारको अभ्यास खासै नभएको र यसपटक जनतामा देखिएको निराशा चिर्ने गरी अघि बढ्ने प्रतिबद्धता गर्नुले यो सरकारले पूरा अवधि शासन सञ्चालन गर्छ कि भन्ने आशा भने पलाएको छ । यी दुई दलको सरकारले पनि पूरा अवधि सरकार नचलाउने हो भने मुलुक अर्को द्वन्द्वमा नजाला भन्न सकिँदैन । अहिले नेपाली–नेपालीबीच लडाएर फाइदा लिन खोज्ने तत्व सक्रिय रहेको बेला दुई दलबीच स्थायित्व दिने गरी सरकार गठन भएकाले जनतामा केही हदसम्म सकारात्मक भावना पलाएको छ ।

मुलुकमा भद्रगोल भएको देख्न चाहने गिरोहले नेपालीलाई नै प्रयोग गरेर जुन दल आए पनि केही नहुने भाष्य निर्माण गर्न ती नेपालीलाई निरन्तर दलका गतिविधिविरुद्ध प्रयोग गरेको पाइनु पक्कै सुखद खबर होइन । बाघचालको अन्तिम चाल भनेजस्तै केपी ओली सरकार पनि संसदीय राजनीतिको अन्तिम प्रयोगको रुपमा लिनेहरु पनि थुप्रै देखिन्छन् । अब अहिलेको संयुक्त सरकारले आलोपालो गरेर २०८४ सालसम्म सकार चलाउने हिम्मत गर्न सक्नुपर्दछ ।

जनताको अन्तिम भरोसाको रुपमा रहेको अहिलेको सत्ता साझेदारीलाई निरन्तरता दिँदै जनतामाझ देखिने कामको शुरुवात गर्नुपर्ने देखिन्छ । चरम निराशामा रुमलिएको युवापुस्तालाई उज्ज्वल भविष्य नेपालमा नै छ भन्ने मान्यता स्थापित गर्नका लागि सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई अब यो वा त्यो कारणले काम भएन भन्ने बहाना बनाउने छुट छैन । त्यसैले सीमित साधन र स्रोतलाई परिचालन गर्दै अघि बढ्नु यो सरकारको मुख्य दायित्व हो ।

हरक्षेत्रमा रहेको भ्रष्ट मनोवृत्तिविरुद्ध लड्न सक्ने क्षमता यो सरकारले राख्न सक्नुपर्दछ । भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने तर व्यवहारमा भने त्यसको उल्टो गर्ने प्रवृत्तिको अन्त्य गर्नु यो सरकारको पहिलो दायित्व हो । क्यान्सरको रुपमा समाजमा व्याप्त रहेको भ्रष्टाचारको अन्त्य गर्न यो सरकार सफल हुनुपर्दछ । होइन भने यो सरकारलाई दिइएको शुभकामना पनि फिर्ता लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले नागरिकमा उत्साह जगाउने गरी अघि बढ्नुपर्ने देखिन्छ ।