अम्बानीको बिहे समारोहको तस्वीरले किम विवादमा

518
Shares

हलिउड अभिनेत्री किम कार्डर्सियन एक तस्वीरका कारण विवादमा तानिएकी छन्।
किम गतशुक्रबार मुम्बईंको जिओ वल्र्ड सेन्टरमा सम्पन्न भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र उनकी प्रेमिका राधिका मर्चेन्टको विवाह समारोहमा खिचेको एक तस्वीरका कारण विवादमा तानिएकी हुन्।

विवाह समारोह भारतसँगै विभिन्न देशका उच्च पदस्ग व्यक्तिको साथमा बलिउड र हलिउडका कलाकारहरूको सहभागिताका कारण स्टारमय भएको थियो। किम कार्डर्सियन पनि आफ्नी बहिनी क्लोई कार्डर्सियनका साथ समारोहमा सरिक भएकी थिइन्। दक्षिण एसियाली धनाढ्यको विवाहमा उनको उपस्थितिले निकै चर्चा पायो।

समारोहमा उनले सारी लगाएकी थिइन्। उनको सो लुक्सको विषेश चर्चा भएको थियो। तर, समारोहमा खिचेको एक तस्वीरका कारण किम आलोचितसमेत बन्न पुगेकी छन्।
किमले समारोहमा विभिन्न खालका तस्वीर खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन्। जसमध्ये एक तस्वीर उनले हिन्दू धर्मावलम्बीका भगवान गणेशको मूर्तीसँग खिचेकी थिइन्। उनले गणेशको मूर्तीको माथिल्लो भागमा दुई हातमाथि अनुहार राखेर पोज दिइरहेकी देखिन्छिन्। उनको सो तस्वीरपछि सामाजिक सञ्जालमा हिन्दू धर्मावलम्बीले विरोध गरेका छन्। हिन्दूका भगवानको मूर्तीमा फोटो खिच्ने शैलीप्रति आपत्ति जनाएपछि उनले सो तस्वीर नै डिलिट गर्नु परेको छ।

समारोहमा अभिताभ बच्चन, सलमान खान, शाहरुख खान, रणवीर सिंह, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न क्षेत्रका हस्ती सहभागी भए भने हलिउड अभिनेता तथा रेस्लर जोन सिना, अभिनेत्री प्रियंका चोपडा, उनका पति एवम हलिउड गायक निक जोनसलगायतको सहभागिता रहेको थियो।