त्रिविका सुध्रन नसकेका दुर्बलताहरु

2.63k
Shares


त्रिचन्द्र कलेज स्थापना भएको ४२ वर्षपश्चात् विश्वविद्यालयस्तरीय शिक्षा प्रदान गर्न वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना भयो । यसरी आजभन्दा ६४ वर्षपूर्व स्थापित त्रिवि नेपालको सबैभन्दा पुरानो राज्य अधीनस्त संस्था हो । यसरी नेपालमा उच्च शिक्षा प्रवाह, विकास तथा प्रवद्र्धनमा त्रिविले ६ दशकसम्म एकल पसिना मात्र बगाएन, उच्च शिक्षाको विकास र विस्तारमा अतुलनीय योगदानसमेत पुर्‍यायो । 
साढे ६ दशकको यात्रा पूरा गरिसकेको त्रिवि अहिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुरुप सञ्चालित छ । हाल कुल ४० वटा केन्द्रीय विभाग, ६३ वटा आंगिक र १ हजार ८२ सम्बन्धन प्राप्त गरी कुल १ हजार १ सय ४५ कजेहरु, हाल ७ हजार ८ सय ४१ शिक्षक र ७ हजार ४ सय १३ कर्मचारी गरी कुल १५ हजार २ सय ५४ जनशक्ति रहेको त्रिविले विभिन्न १ सय ५५ विषयहरु अध्यापन गराइरहेको छ ।
त्रिविअन्र्तगत व्यवस्थापन, कानुन, शिक्षा, मानविकी तथा सामाजिकशास्त्र गरी ४ वटा संकाय, कृषि, वन तथा पशुविज्ञान, मेडिसन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि गरी ५ वटा अध्ययन संस्थान र सेडा, सिनास, रिकास्ट, सिराइड गरी ४ वटा अनुसन्धान केन्द्र सञ्चालनमा छन्। 
स्नातक, स्नाकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका कक्षा सञ्चालन गरिरहेको त्रिविमा औसत १६ विद्यार्थी बराबर १ शिक्षक रहेका छन्। कुल ४ लाख ८२ विद्यार्थी अध्ययनरत रहकोमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी संख्याको हिसाबले कुल १७ विश्वविद्यलयमध्ये यसको हिस्सा ७८ प्रतिशत छ। विश्वविद्यालयलाई कसरी अगाडि बढ्ने–बढाउने भन्ने सम्बन्धमा वि.सं. २०१९ मा त्रिवि परिदृश्य, २०३० अगाडि सारेको छ। 
प्रधानमन्त्री पदेन कुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदेन सह–कुलपति रहने कानुनी प्रावधान रहेको त्रिविमा उपकुलपति सिफारिस समितिको सिफारिसमा कुलपतिबाट र उपकुलपति र उपकुलपतिको सिफारिसमा रेक्टर र रजिस्ट्रारको नियुक्त हुने कानुनी व्यवस्था रहेको त्रिवि अनेकन कमी–कमजोरीहरुबाट गुज्रिरहेको छ । करिब ५ लाख विद्यार्र्थीको भाग्य र भविष्य मानिएको त्रिविको अन्तरंगमा मूलतः तपसिलका कमी–कजोरीहरु गडेका छन् :

गन्तव्य किटान :

त्रिविले आफूलाई अब्बल साबित गर्न निहित उद्देश्य, सोच, गति र गन्तव्य किटान गरेको हुुनुपर्दछ । तर विद्यार्थीलाई ज्ञानी, सीपयुक्त, अन्वेषकमध्ये के बनाउने ? शैक्षिक पद्धति शिक्षक केन्द्रित, पुस्तक केन्द्रित, व्यवहार केन्द्रित, प्रक्रिया केन्द्रित वा विज्ञान तथा प्रविधि केन्द्रित के हुने ? शैक्षिक गुणस्तर काम चलाउ वा अन्तर्राट्रिय स्तरको बनाउने ? पाँच, दश, पन्ध्र वा बीस वर्षमा कुन उचाइमा पुर्‍याउने ? त्रिविमा गढेका आर्थिक अपचलन कसरी निरुपण गराउने ? शोध–अनुसन्धान के–कति गुणवत्तापूर्ण हुने ? शैक्षिक पात्रोलाई के–कसरी लागू गर्ने, कसरी बाह्य मुलुकका विद्यार्थी आकर्षण गर्ने ? प्रस्ट सोचको अभाव छ। अर्थात् गति, गन्तव्य र गम्भीरताको किटान गर्न सकिएको छैन ।
कानुन :
त्रिविलाई समयसापेक्ष प्रतिस्पर्धी तुल्याउन यससम्बद्ध कानुन समसामयिक संशोधन गरिएको हुनुपर्दछ। तर त्रिवि आजभन्दा ३ दशकअघि निर्मित कानुन (त्रिभुवन विश्वविद्यालय ऐन, २०४९) अनुसार सञ्चालित छ। त्यस्तै, सरोकारवालासँग पर्याप्त छलफल नगरी उच्च शिक्षा विधेयक मस्यौदा तयार पारिएको मात्र छैन, अहिले संघीय संसद्मा अड्किएको छ। कानुन न्याय तथा संसदीय मामला मन्त्रालयबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा फिर्ता भएको दुई महिना बितिसक्दा पनि दिइएको सुझाव सम्बोधन गरी अगाडि बढाउन इच्छा जनाइएको छैन।
पदाधिकारी :
त्रिविलाई उद्देश्यमुखी र अब्बल बनाउन नाजायज राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्दछ । तर प्रधानमन्त्री पदेन कुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदेन सहकुलपति हुने कानुनी प्रावधान रहेको मात्र छैन, बल्की उपकुलपति सिफारिस समितिको सिफारिसमा कुलपतिबाट र उपकुलपति र उपकुलपतिको सिफारिसमा रेक्टर र रजिस्ट्रारको नियुक्त हुने कानुनी व्यवस्था छ। प्रधानमन्त्री राजनीतिक दलका नेता हुने भएकाले यी नियुक्तिहरु स्वाभाविकरुपमा राजनीतिक पूर्वाग्रहबाट अछूतो रहने गरेको छैन। त्यस्तै आंशिक प्राध्यापकहरुको नियुक्तिमा समेत राजनीतिक प्रभाव पर्ने गरेको छ। अर्थात्, उपकुलपतिदेखि सहायक क्याम्पस प्रमुखसम्मको नियुक्तिमा राजनीतिक दबाब पर्ने गरेको छ । सोही कारण शैक्षिक रुपमा अब्बल साबित भएका स्वर्णपदक विजेता, कार्यदक्षता–अनुसन्धानमा अब्बल, विशिष्टीकृत गुण भएका प्रध्यापक नियुक्तिबाट वञ्चित हुनुपरेको छ । नाजायज राजनीतिक दबाब तथा हस्तक्षेप कर्मचारीको नियुक्ति, सरुवा, सेवासुविधा र तालाबन्दीमा समेत पर्ने गरेको हो ।
राजनीतिक चलखेलका कारण, उपकुलपति तथा सेवा आयोगको अध्यक्षमा नियुक्ति सिफारिसमा चुकिएको छ । सिफारिस समितिले उपकुलपतिका लागि दरखास्त आह्वान गर्दै निकालेको सूचना विवादित भई सच्याएर जारी गर्नुपरेको हो भने सेवा आयोगको अध्यक्षमा सिफारिस गरिएको एकल नामे विवादित बनेको कारण पुनः तीनजनाको नाम पठाइएको हो ।  

जीवनोपयोगी सीप:

त्रिविले आफ्नो साख बचाइराख्न यसले प्रदान गर्ने शिक्षा व्यावहारिक, जीवन उपयोगी र बजार माग अनुकूल हुनुपर्दछ। तर त्रिविले अहिले पनि आजभन्दा ५० वर्षअघि विकसित मुलुकहरुले अवलम्बन गर्ने गरेका पाठ्यक्रम परित्याग गर्न सकेको छैन, जुन २१ शताव्दीमा अर्थहीन भइसकेका छन् । अर्थात् त्रिविले विद्यार्थीलाई सिर्फ ज्ञानी मात्र बनाउन खोजेको छ, सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउन चाहिरको छैन । जबकि जीवन जिउनका लागि ज्ञानभन्दा सीप आवश्यक पर्दछ । ज्ञानीले आफसेआफ सीप आर्जन गर्न सक्दैन । वस्तुतः सीप हुनेहरु ज्ञानी हुनु आवश्यक छैन । यहाँसम्म कि इन्जिनियरिङ, चिकित्सा वा विज्ञान तथा प्रविधि अध्यतालाई समेत ज्ञान केन्द्रित गराइएको छ । अर्थात् सीप वा व्यावहारिक प्रयोग नजरअन्दाज गरिएको छ । आव २०७९।८० मा उच्च शिक्षा तहमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ मात्र रहनुले उक्त कुराको सबुत दिन्छ । विद्यार्थीलाई रोजगारी सर्जक, उद्यमी, विज्ञ बनाउन नसक्दा उच्च शिक्षा आर्जनपश्चात् रोजगारीका लागि सर्वत्र भौँतारिनुपरेको हो ।
श्रेणीकरण :
त्रिविद्वारा उत्पादित जनशक्ति विश्वबजारमा बिकाउ गराउन उक्त शैक्षिक संस्था, समकक्षी शैक्षिक संस्थाको दाँजोमा अब्बल साबित हुनुपर्दछ । शैक्षिक संस्थाको अब्बलता निर्धारण मूलतः विद्यार्थीको आकार, प्रतिअध्यापक विद्यार्थीको संख्या, महिला–पुरुषबीचको अनुपात, इन्टर्नसिप, बाह्य मुलुकबाट अध्ययनार्थ भर्ना भएका विद्यार्थीको हिस्सा, शोध–अनुसन्धानको स्तर आदि आधारमा गर्ने गरिन्छ । तर सन् २०२३ मा विश्वविद्यालयको श्रेणीकरण आइरहेको वेवओ मेट्रिक्स इन्फोद्वारा गरिएको श्रेणीकरणमा विश्वका ११ हजार ९ सय ९७ विश्वविद्यालयमध्ये त्रिवि ९ हजार ६७ औँ स्थानमा रहेको छ । जहाँ हार्डवर्ड, स्ट्यान्डफोर्ड र म्यासाचुसेट विश्वविद्यालयहरु क्रमशः प्रथ्रम, दोस्रो र ते्रसो स्थानमा रहेका छन्।

त्यस्तै, विश्वविद्यालयको श्रेणीकरण आइरहेका बेलायती संस्था, दी टाइम्स हायर एजुकेसन वल्र्ड युनिभर्सिटीले जनवरी, २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका १ सय ८ मुलुकका १ हजार ९ सय ६ विश्वविद्यालयमध्ये त्रिवि १ हजार २ सय १ देखि १ हजार ५ सयको श्रेणीमै सीमित भएको छ। जसमा स्टुडेन्ट रिभ्यु अन स्टडिप्रोट ५.६ स्टार मात्र प्राप्त गरेको छ । जहाँ, युनिभर्सिटी अफ अक्फोर्ड, स्ट्यान्डफोर्ड युनिभर्सिटी, म्यासाचुसेट युनिभर्सिटी अफ टेक्नोलोजी, हार्डवर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ क्याब्रिज क्रमशः प्रथमदेखि पाँचौँ स्थानमा रहेका छन्।
परीक्षा प्रणाली :
त्रिविप्रतिको विश्वसनीयता अभिवृद्धिका लागि यसले लिने जाँच विश्वसनीय र वस्तुनिष्ठ हुनुपर्दछ । परीक्षा नजिताका लागि अध्यापन गराइरहेका प्राध्यापकलाई विश्वास नगरी परीक्षा नियन्त्रण कार्यालयलाई निक्षेपण गर्ने गरिएको छ। त्रिविले वार्षिक परीक्षा सञ्चालनका लागि २ अर्ब खर्च मात्र गरेको छैन, बरु परीक्षा सञ्चालनको नाममा एउटा अमुक कर्मचारीले मासिक २ लाखसम्म भत्ता बुझ्ने गरेको बताइन्छ। त्रिविले निर्धारित समयमा परीक्षा सञ्चालन एवं नतिजा प्रकाशन गर्न मात्र चुकेको छैन, बरु नतिजाको विश्वसनीयताउपर पटक–पटक प्रश्नचिह्न लाग्ने गरेको छ । 
वि.संं. २०७५ मा लिइएको स्नातकोत्तर तहको भौतिकशास्त्र प्रथम सेमेस्टरअन्तर्गतको क्वान्टम मेकानिक्स विषयको जाँचमा लापर्वाहीपूर्ण तरिकाले अधिकांश प्रश्नहरु पाठ्यक्रमभन्दा बाहिरबाट निकालिनु, लापर्वाहीपूर्वक उत्तर पुस्तिका जाँचको कारण दुई तिहाइ विद्यार्थी उत्तीर्ण हुनु त्यसैको दृष्टान्त हो । मात्र ३० जना परीक्षार्थीको नतिजा निकाल्न ६ महिना लगाउनु (जनप्रशासन एमफिल, दशौँ ब्याच) वा २ हप्तामा निकाल्न सकिने नतिजा ६ महिना लगाउनु त्यसैको अर्को दृष्टान्त हो ।
शोध–अनुसन्धान :
गुणस्तरीय शोध–अनुसन्धान गर्नु, गराउनु त्रिवि ऐन २०४९ मा किटिएको जिम्मवारी हो । तर त्रिविले शोध–अनुसन्धानलाई प्रश्नचिह्नरहित तुल्याउन सकिरहेको छैन । त्रिवि अध्ययन गर्र्नेे विद्यार्थीको शोध–अनुसन्धान केवल लब्धांकपत्रमा अंक प्राप्ति र उपाधी धारण गर्ने साधनको रुपमा लिने गरिएको छ । अर्को शब्दमा भन्नुपर्दा, शोध–अनुसन्धानबाट प्राप्त नतिजालाई पेटेन्टको रुपमा दर्ता गरी आयआर्जन गर्ने वातावरण निर्माण गर्न सकिएको छैन । यी र यस्तै अभ्यासका कारण विश्वविद्यालयको शोध–अनुसन्धान मापन गर्दै आइरहेको टाइम्स हायर इजुकेसनले त्रिविलाई पछिल्लो समयमा शोध–अनुसन्धान वातावरण मेट्रिक्समा सबैभन्दा कम अंक प्रदान गरेको हो ।
शैक्षिक पात्रो :
त्रिविले आफ्ना शैक्षिक गतिविधि, सटिकरुपमा अघि बढाउन शैक्षिक पात्रो लागू गरेको हुनुपर्दछ । तर त्रिवि निर्धारित समयमा परीक्षा लिन, नजिता प्रकाशन गर्न, नयाँ भर्ना लिनलगायत शैक्षिक पात्रो कार्यान्वयनमा चुक्दै आएको छ । उदाहरणार्थ त्रिविअन्तर्गतको जनप्रशासन संकाय एमफिल १० औं ब्याचको नतिजा प्रकाशन भएको एक वर्ष व्यतीत भइसक्दा पनि विद्यावारिधिमा भर्नाका लागि अझै आवेदन माग गरिएको छैन । त्रिविको उक्त ढिलासुस्तीबाट पीडित हुनेमध्येमा स्वयं पंक्तिकार पनि एक हो। 
निसन्देह त्रिवि उच्च शिक्षा अध्ययनरत ३ लाख ३५ हजार विद्यार्र्थीहरुको भविष्यसँग जोडिएको संस्था हो। विद्यार्थी संख्या, शिक्षक, राज्यको लगानी, शैक्षिक बजेट, भौतिक पूर्वाधार आदि दृष्टिकोणबाट सबैभन्दा ठूलो विश्वविद्यालय पनि हो । यसर्थ त्रिविलाई सबल बनाउन प्रधानमन्त्री पदेन कुलपति, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री/राज्यमन्त्री सहायक कुलपति हुने, कुलपतिबाट उपकुलपति र उपकुलपतिको सिफारिसमा डिन, रेक्टर, रजिस्ट्रार नियुक्त हुने प्रावधान अन्त्य गरी क्षमताका अधारमा (मेरिटोक्रेसी बेसमा) नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्दछ ।  
त्रिवि सुधारार्थ निश्चित लक्ष्य, मापदण्ड, सूचकांक तयार गरी पदाधिकारीलाई दण्ड तथा पुरस्कारमा अनुबन्धन गरिनुपर्दछ । विश्वविद्यालयका पदाधिकारीहरु सुधार गर्न र सुध्रिन तत्पर हुनुपर्दछ । सम्बन्धन प्राप्त कलेजहरु त्रिविका खातिर धमिराजस्तै भएकाले छुट्टै बोर्डमार्फत सञ्चालन गर्ने गरी गरी ऐन संशोधन गर्नुपर्दछ । त्रिविमा विदेशी प्राध्यापक एवं विद्यार्र्थी शून्य रहेकाले विदशी प्राध्यापक एवं विद्यार्र्थी भित्र्याउन उच्च हिमशृङ्खला, हिमताल, बहुमूल्य, जडीबुटी, खनिज पदार्थ, जलवायु, जैविक विविधता, जलसम्पदा, कृषि सम्भावना, सांस्कृतिक बहुलतालाई लक्षित गरी अध्ययन–अनुसन्धानको वातावरण निर्माण गर्नुपर्दछ ।