काठमाडौं महानगरले श्रम बैंक मार्फत ९ सयभन्दा बढीलाई दियो रोजगारी

196
Shares

काठमाडौं ।

काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्य योजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैङ्क’ स्वर्णिम योजना अगाडि बढाएको हो।

यसको सुरुवात भएको आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन्।

यसबाट श्रम बैङ्कमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको  छ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू  रोजगार/स्वरोजगार भएका छन्। महानगरको सानो प्रयासले एक आर्थिक वर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरू रोजगार/स्वरोजगार भएका छन्। यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो सङ्ख्या हो। आर्थिक वर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरी बजेट तथा कार्यक्रमहरू तयार गरेको छ।

सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ। समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ। महानगरले व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौं प्लाजास्थित महानगरको श्रम बैङ्क वा वेबसाइटमा भएको लिङ्क मार्फत सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ।

एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा सेलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ।