संयुक्त राष्ट्रसंघको मुख्यालयमा मिथिलाको चित्रकला प्रदर्शनी

56
Shares

न्यूयोर्क ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी शुरू भएको छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ अमेरिकी समयअनुसार गतबिहीबार प्रदर्शनी औपचारिक रूपमा शुरू भएको हो।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसद्वारा आरम्भ प्रदर्शनी आगामी जुलाई १७ सम्म चल्नेछ। फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफूलाई गम्भीर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।

समारोहमा स्थायी नियोग प्रतिनिीध एवं राजदूत लोकबहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भीररूपमा लिनुपर्ने चर्चा गरे। मुख्यालयमा जारी हाई लेभल पोलिटिकल फोरुम अन सस्टेनेवल डेभलपमेन्टलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्न अपनाउनुपर्ने नीतिबारे दबाब दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी गराए।

मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतीक रायमाझीले जानकारी गराए। ‘मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकलामार्फत् प्रस्तुत गरेका छौँ। प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु,’ चित्रकार रायमाझीले भने।

अर्थपूर्ण र कलात्मक रूपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्रसंघको मुख्यालयमा उपस्थित संसारभरका उच्चपदस्थ प्रतिनिधिको ध्यानाकर्षण गरेको छ। प्रदर्शनीमा मिथिला चित्रकारहरू स्वयंले यसबारे व्याख्या गरिरहेका छन्।

दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, इतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्शाउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथासँग जोडिएको छ। सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यतामध्येको एक यो सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्‍याउने सेन्टरका अध्यक्ष शाहले दाबी गरे।

प्रदर्शनीमा एसके सुमन, प्रतीक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिषा शाहलगायत चित्रकारको चित्रकला रहेको छ। त्यस्तै, जनकपुर महिला विकास केन्द्रका कलाकार सेलो यादव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको कला पनि प्रदर्शन गरिएको छ।