सिमलताल दुर्घटना: सोनार डिभाईसमार्फत खोजी सुरु 

770
Shares

काठमाडौँ। 

असार २८ गते शुक्रबारदेखि त्रिशुलीमा हराई रहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाईस प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आईतबार कुरिनटार लगिएको सो डिभाईस मार्फत खोजीकार्य शुरु गरिएको हो ।

नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाई त्यहाँ रहेका बस्तुहरुलाई स्क्यान गरी आकृतिको रुपमा देखाउने प्रविधि हो । यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन  । तर सोमबार प्रयोग गरिएको सोनार डिभाईस उच्चतम प्रविधिको साधन रहेको  र यसको क्षमता २ सय मिटर गहिराई सम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने रहेको छ ।

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउण्ड वेभ तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनी रहेका सम्पूर्ण वस्तुहरुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।