ध्रुव आशावादी

84
Shares

काठमाडौं ।

रिलिजमा आउन लागेको फिल्म ईश्वरलाई लिएर नायक ध्रुव थापा आशावादी छन्। रेडियो र रंगमञ्चीय नाटकका साथमा केही भिडियो, टेली र फिचर फिल्ममा अभिनय गरेका ध्रुवले ईश्वरमा नायकसँगै निर्माताको जिम्मेवारी पनि वहन गरेका छन्।

‘ईश्वरमा निडर, निष्ठावान्, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु। मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ,’ उनी भन्छन् ‘सुनील थापा, सबिन बास्तोलालगायत दिग्गज कलाकारसँग काम गर्न पाउँदा खुशी छु। फिल्ममा स्थापित कलाकारसँग काम गर्न निकै सजिलो भयो।’

२०४८ सालमा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतिमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा शुरू गरेका ध्रुवको लक्ष्य यसै क्षेत्रमा जम्नेछ।

‘मैले विभिन्न स्टेज र रेडियो नाटक, भिडियो र टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय गरेँ। म कला क्षेत्रमा स्थापितचाहिँ हुन सकिनं। पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा केही समय हराएँ। अहिले सबै कुरा एडजस्ट भएपछि फिल्ममा पुनः फर्किएको छु,’ फिल्म ईश्वरप्रति उत्साहित उनी भन्छन्, ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ। मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निर्वाह गरेको छु। त्यसकारण दर्शकको माया पाउनेमा आशावादी छु।’