नयाँ सरकारले आशा जगाउनुपर्छ

98
Shares

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै मुलुकमा नयाँ सरकार बनेको छ । हरेक नयाँ सरकार बन्दा जनतामा केही न केही आशा हुनु स्वाभाविक नै हो । नयाँ सरकार बन्नासाथ यो सरकारले केही गर्छ कि भनेर आशा गर्ने जनता भने विगतका सरकारका क्रियाकलापबाट निराशजस्तै बन्दै आएका छन् । अब ओली सरकारले जनताको निराशालाई आशामा बदल्न सक्नुपर्छ । विगतमा देश हाँक्ने मुख्य जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्वमा सदाचारिता र नैतिकताको ठूलो अभाव हुँदा देशको विकास अपेक्षा गरेअनुसार हुन नसकेको साँचो हो । आम नागरिक विकासको फलबाट वञ्चित हुन पुग्दा उनीहरुको सरकारप्रतिको आशा मर्न पुग्छ । जनतामा बारम्बार सरकारप्रतिको आशा र भरोसा मर्ने स्थिति आयो भने त्यसले विद्रोहसमेत ल्याउन सक्छ । त्यसैले ओली नेतृत्वको सरकारले अबका दिनमा आफ्ना सबै संयन्त्रहरु मुलुकको विकास, सुशासन र समृद्धिका लागि दौडाउन सक्नुपर्छ ।

अझै पनि रोग, भोक र गरिबीका कारण यहाँका कैयौँ नागरिक आक्रान्त छन् । हामीकहाँ धनी र गरिबबीचको खाडल झन्–झन् गहिरिँदै छ । धनीहरु झन् धनी र गरिबहरु झन् गरिब हुनुपर्ने दुःखदायी अवस्था छ । यो सबै विगतदेखि नै हाम्रा शासक र सरकारहरुले देखाउँदै आएको भ्रष्ट चरित्रको उपज हो । साथै उनीहरुको भ्रष्ट चरित्रले सिर्जना गरेको समस्या हो । त्यसैले चारैतिर निराशाको बादल मडारिरहेको छ । यस्तो अवस्थामा नागरिकलाई सपना देखाउनेभन्दा पनि काम गरेर परिणाम दिनुपर्ने आवश्यकता बढेर गएको छ । तत्कालीन नेकपा सरकारको प्रधानमन्त्री भएको बेला ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य र अवधारणा ल्याउनुभएको थियो । विभिन्न कारणले त्यति बेला उहाँले ल्याएको अवधारणाअनुसार देश चल्न सकेन । अबचाहिँ ओलीले आफ्नो सो अवधारणालाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

ओलीले त्यति बेला राज्य सञ्चालनमा रहेका सबै पक्षका लागि पाँचवटा सिद्धान्तअनुसार अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभएको थियो । ती पाँच सिद्धान्तहरुमा समय सदुपयोगको सिद्धान्त, स्रोत–साधन सदुपयोगको सिद्धान्त, योजनाबद्ध प्रयासको सिद्धान्त, गतिशीलताको सिद्धान्त र एकाग्रताको सिद्धान्त रहेका थिए । अब प्रधानमन्त्री ओलीले फेरि ती सिद्धान्तलाई अघि सार्दै आफ्ना सारथी मन्त्री र सिंगो प्रशासन संयन्त्रलाई त्यसमा हिँडाउन सक्नुपर्छ । यसका लागि सबैजना सदाचारी र नैतिक बन्न जरुरी छ । ओलीले आफू सदाचारी बनेर मन्त्री, मुख्य सचिव, सचिव तथा अन्य उच्च राजनीतिक नेतृत्वसमेतमा सदाचारिता कायम गराउन सक्नुपर्छ । प्रधानमन्त्री ओलीका लागि यो ठूलो अवसर र चुनौती दुवै हो । धेरै चुनौती छन् । ती सबै चुनौतीलाई अवसरमा बदलेर मुलुकको विकास र समृद्धिको गतिलाई तेज बनाउन सक्नुभयो भने बल्ल उहाँ सफल राजनीतिज्ञ बन्न सक्नुहुनेछ । अन्यथा आयाराम गयारामकै शैलीमा काम भयो भने त्यो मुलुकको लागि समेत ठूलो दुर्भाग्य हुनेछ र उहाँको लोकप्रियताको क्षयीकरण हुनेछ । त्यसैले प्रधानमन्त्रीले पहिलो काम भ्रष्टाचारको अन्त्य गर्नै पर्छ ।

सार्वजनिक अधिकारी सार्वजनिक हित प्रवद्र्धनको लागि मात्र नियुक्त भएका हुन्छन्, भ्रष्टाचार गर्न होइन । यो तथ्यलाई समेत बुझेर प्रधानमन्त्री र उहाँका सारथीहरुले सार्वजनिक हितका लागि मात्रै काम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर अघि बढ्नुपर्छ । जनताको एउटै चाहना छ– ‘शासकहरु सदाचारी बन्न सकून्, भ्रष्टाचार नगरुन् ।’ त्यसैले नयाँ सरकारको नेतृत्व गर्नुभएका ओली र उहाँका सबै सारथीहरुले जनताको चाहना अनुरुप सदाचार पद्धतिको मार्गमा हिँड्न सक्नुपर्छ । सुशासन कायम गर्ने विषयलाई मुख्य नीति बनाएर त्यसको सफल कार्यान्वयन गर्नुपर्छ । यसो हुन सकेमा मात्रै नयाँ सरकारले आम जनतामा आशा र भरोसा दिलाउन सक्छ ।