अलकराजको विम्बल्डन उपाधिमा राज

182
Shares

एजेन्सी ।

यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेर स्पेनका कार्लोस अलकराजले उपाधिको रक्षा गरेका छन्। अलकराजले २४ ग्रान्डस्लाम जितेर पुरुष एकलतर्फ कीर्तिमान रचेका नोभाक जोकोभिचलाई सीधा सेटमै पराजित गरेका थिए।

साथै जोकोभिच विम्बल्डनमा सात पटक उपाधि जितेका खेलाडी समेत हुन्। आइतबार भएको फाइनलमा विम्बल्डनका अनुभवी खेलाडीलाई युवा अलकराजले कुनै पनि विधामा चल्न दिएनन् ।

फोरह्यान्ड, ब्याकह्यान्ड, रिटर्न, भलि र सर्भिसमा उत्कृष्ट खेल देखाएर अलकराजले उपाधि सहजै जितेका हुन्। उनले यो एकतर्फी बनाएको फाइनल खेल ६–२, ६–२, ७–६ ले जितेका थिए । गत वर्ष पनि उनले फाइनलमा जोकोभिचलाई नै हराएका थिए।

रोमाञ्चक तेस्रो सेट

दुई सेट निरस भएर सकेपछि तेस्रो सेट भने रोमाञ्चक बनेको थियो । तेस्रो सेटमा ५–४ को अग्रता लिएका अल्कारजसँग तीन च्याम्पियनसिप अंक थियो। एक च्याम्पियनसिप मात्रै बचाएपनि उपाधि जित्ने अवसर थियो। तर, यी तीनै च्याम्पियनसिप अंक बचाएर जोकोभिचले यो सेट ५–५ मा पुर्‍याएका थिए।

यसपछि जोकोभिचले आफ्नो सर्भिस बचाएर ६–५ को अग्रता बनाएपछि खेलमा पहिलो पटक अग्रता लिए । तर, अलकराजले ६–६ मा पुर्‍याएर टाइब्रेकमा ७–४ अंकले आफ्नो पक्षमा पार्दै जोकोभिचको पुनरागमन गर्ने आस समाप्त पारिदिए ।

चार ग्रान्डस्लाम उपाधि

अलकराजले पछिल्ला केही वर्षदेखि विश्व टेनिस जगतमा राज गर्दै आएका छन् । उनले २१ वर्षको उमेरमै तीन वर्षमा योसमेत गरी करिअरमा चौथो ग्रान्डस्लाम उपाधि जितिसके । उनले पहिलो पटक ग्रान्डस्लाम सन् २०२२ मा यूएस ओपन जितेका थिए । यसपछि उनले विम्बल्डनमा लगातार दोस्रो पटक र फ्रेन्च ओपनमा उपाधि गत महिना जितेका थिए ।

जोकोभिच २४ मै

अलकराजको उदयले गर्दा जोकोभिचले २५ औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा बाधा परिरहेको छ । पछिल्ला केही खेलहरूमा उनी अलकराजसँग पराजित भएका छन् । उनी अहिले मार्गारेट कोर्ट स्मिथको सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानीसँग बराबरीमा छन् । दुबैले २४÷२४ ग्रान्डस्लाम जितेका छन् ।

जोकोभिचले बताएअनुसार उनी सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्नेमा एकल कीर्तिमान राख्ने लक्ष्यमा रहेका छन् । तर, यो वर्ष तीन ग्रान्डस्लाम प्रतियोगिता समाप्त हुँदासम्म यो लक्ष्यमा पुग्न उनी असफल भए । यस वर्ष समाप्त भएका तीनै ग्रान्डस्लाममा जोकोभिचले उपाधि जित्न सकेनन् । यदि यूएस ओपनमा पनि हारेमा उनको पहिलो पटक ग्रान्डस्लाम उपाधिविहीन वर्ष हुनेछ ।