पतञ्जली आयुर्वेद कलेजको बदमासी : १० महिनाको पारिश्रमिक नपाएको भन्दै श्रममा उजुरी

१५ दिनभित्र लिखित जानकारी गराउन पत्र 

476
Shares

–रामदेवको र बालकृष्णको बदमासी
–कम्तीमा मासिक २० हजार दिन माग
–तलब माग्दा धम्की दिने गरेको विद्यार्थीको आरोप
–अन्य कर्मचारीलाई पनि नियुक्तिपत्र छैन, समयमा तलब पाउँदैनन्

काठमाडौं ।

पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले २० जना आयुर्वेद विषयका इन्टर्न चिकित्सकलाई १० महिनासम्म पारिश्रमिक नदिएपछि उनीहरूले श्रम तथा सामाजिक सुरक्षा विभागमा उजुरी दिएका छन् । बाबा रामदेव, आचार्य बालकृष्ण र नेपालको तर्फबाट ट्रस्टी शालिकराम सिंहले सञ्चालन गरेको उक्त कलेजविरुद्ध ती विद्यार्थीले विभागमा उजुरी दिएका हुन् ।

सो उजुरीका आधारमा विभागले असार २४ गते कलेजलाई पत्र काटेर १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । विभागले श्रम ऐन २०७४ तथा नियमावली २०७५ कोे व्यवस्थाबमोजिम निवेदकको मागलाई सम्बोधन गरी विभागलाई लिखित जानकारी गराउन निर्देशन दिएको हो । कलेजले ५ वर्षे बिएएमएस कोर्सअन्तर्गत अन्तिम एक वर्ष प्रशिक्षार्थीको रूपमा आयुर्वेद चिकित्सकलाई खटाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कलेजले २०८० भदौ २३ गतेबाट २० जनालाई प्रशिक्षार्थी चिकित्सकको रूपमा काममा खटाउन थालेको थियो।

त्रिवि, पूर्वाञ्चललगायत सबै विश्वविद्यालयको नियमअनुसार प्रतिप्रशिक्षार्थी विद्यार्थी २४ हजार रुपियाँ पारिश्रमिक दिने व्यवस्था छ । यद्यपि, ती २० जना विद्यार्थीले २४ हजार नमागी श्रमिकको न्युनतम ज्याला मात्र माग गरेका छन्। नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले अध्यययन गरिरहेका २० जना विद्यार्थीलाई १० महिनादेखि एक रुपियाँ पनि दिएको छैन ।

पतञ्जली कलेजले १० महिनासम्म तलब नदिएपछि विद्यार्थीले उजुरी दिएका थिए। कलेजको बिएएमएस इन्टर्नसिपमा अध्ययनरत एक विद्यार्थीले नेपाल समाचारपत्रसँग भने– ‘तलबको त कुरै छाडौं, खाजा, खान र बस भाडासम्म दिने गरेको छैन। सयौं पटक तलब माग गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर उजुरी गरेका हौं।’ नेपालमा आयुर्वेद कलेज सञ्चालन गरेदेखि विवादको घेरामा रहेको सो कलेजले तलब दिनुको साटो धम्क्याउने गरेको विद्यार्थीको आरोप छ।

‘कोर्स सकिन २ महिना बाँकी छ, अहिलेसम्म एक रुपियाँ हात परेको छैन’ –अर्का पीडित विद्यार्थीले नेपाल समाचारपत्रसँग भने। यस विषयमा नेपाल समाचारपत्रले धेरै विद्यार्थीसँग कुरा गरेको थियो । नाम उल्लेख गरे कलेजले कारबाही गर्नसक्ने भन्दै आफ्नो नाम उल्लेख नगर्न ती विद्यार्थीहरूले अनुरोध गरेका छन् ।
रिसर्च सेन्टरका सूचना अधिकारी विश्वराज कोइरालाले श्रम विभागले पठाएको पत्रको अध्ययन भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘पत्र पाएका छौं । इन्टर्न विद्यार्थीलाई कति कति पारिश्रमिक उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।’

कलेजले श्रम विभागको पत्रको बारेमा हरिद्वारस्थित पतञ्जली आयुर्वेद केन्द्रलाई जानकारी गराएको छ। उहाँका अनुसार पतञ्जलीले दिएको निर्देशनअनुसार पारिश्रमिकवापत कति रकम उपलब्ध गराउने भन्ने विषयमा निर्णय गरिने छ।

कलेजको समस्याका बारेमा पतञ्जली नेपालले रामदेव र आचार्य बालकृष्णलाई जानकारी गराइसकेको छ। नेपालको ट्रस्टी शालिकराम सिंहकै कारण कलेजमा समस्यामा बढिरहेको छन् । यसअघि पनि विश्वविद्यालयलाई २ लाख रुपियाँ नबुझाएर विद्यार्थीको परीक्षा नै अनिश्चित भएको थियो।

नेपाल समाचारपत्रले लगातार समाचार सम्प्रेषण गरेपछि विश्वविद्यालयमा रकम जम्मा गरेर परीक्षा सञ्चालन गरेको थियो । विश्वभर योगगुरुको नामले प्रख्यात रामदेव र आचार्य बालकृष्णले सञ्चालन गरेको सो कलेजमा काम गर्ने कर्मचारीलाई पनि तलब दिएको छैन।

विद्यार्थीबाहेक अन्य कर्मचारीलाई पनि कलेजले नियुक्तिपत्र, बिदा र समयमा तलब दिने गरेको छैन । तलब माग्न गयो भने ट्रस्टी सिंहले थर्काउने गरेको आरोप छ।