गुन्यू चोलोमा नाजिरको नयाँ रुप

224
Shares

काठमाडौं ।

गुन्यू चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल (गुलाबी) आगामी कातिक ९ गते रिलिजमा आउने भएको छ।

निर्माण समूहले फिल्मका मुख्य कलाकार नाजिर हुसेनको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै कातिक ९ गतेका लागि रिलिज डेट घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा समावेश नाजिरको लुक्सले नै फिल्मको कथावस्तु बोलेको छ।

नाजिरले यो फिल्मका लागि १६ केजी तौल घटाएका थिए। नाजिर पहेँलो रङको वान पिसमा देखिएका उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा चोटको निशान पनि देखिएको छ। नाकमा नथिया, कानमा झुम्का र पूरै शृंगारमा सजिएका नाजिरको ट्रान्सवुमन लुक्स पोस्टरमा आकर्षक देखिएको छ।

निर्देशक समुन्द्र भट्टले फिल्मका लागि गरेको मिहिनेत पोस्टरमा पनि झल्किएको छ। निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाज र मितिनी नेपालसँग परामर्श गरेर फिल्म तयार पारेकी हुन्। फिल्मलाई लिएर आफू निकै आशावादी रहेको समुद्रले बताएकी छन्।

अमेरिकी कम्पनी भिजन इन्टरटेन्मेन्ट र द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनद्वारा निर्मित फिल्मले परलैंगिकताको कथा उठान गरेको छ।

नाजिरको अलावा संचिता लुर्इंटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारले अभिनय गरेको फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा र संवाद, लेखु सहयात्रीको गीत रचना, र आलोक शुक्लाको छायाँकन रहेको छ।