गाईघाटका दुई बसपार्क पोखरीमा परिणत

700
Shares

उदयपुर। 

उदयपुरको सदरमुकाम गाईघाटमा रहेको दुई बसपार्क डुबानमा परेको छ । एउटा त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा नदी किनारमा र अर्को बसपार्क बरुवा नदी किनारमा त्रियुगा नगरपालिकाको १३ नं वडामा पर्दछ ।

गाईघाटको त्रियुगा नपा ३ मा रहेको त्रियुगा बसपार्कमा खाल्डाखुल्डीमा जमेको पानीले गाडी संचालनमा  र यात्रुहरुलाई समेत असर गरेको छ भने पानी जमेका कारण सुख्खा ठाउँ खोजेर बस पार्किङ गर्नुपर्ने अवस्था रहेको छ ।

अर्को पूर्व पश्चिम बरुवा बसपार्कमा पानी जमेर पोखरी जस्तो भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत रहेको बरवा बसपार्कमा पनि सुख्खा ठाउँमा बस पार्किङ गर्नु पर्ने अवस्था रहेको छ ।

धरान, बिराटनगर, काकडभिट्ठा, सुनसरीको चतरा, बराहक्षेत्र जाने बसहरु बरुवा बसपार्कबाट मदन भण्डारी लोकमार्ग हुँदै जाने गरेका छन् भने जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुग्न पोखरी सरहको पानीमा हेलेर जानु पर्ने अवस्था रहेको छ । अहिले बरुपा बसपार्कमा घुँडा माथिसम्म पानी जमेको छ ।

त्रियुगा बसपार्कबाट कद्माहा लाहान हुँदै काठमाडौँ, बिरगञ्ज, पोखरा, नारायणघाट लगायतका ठाउँहरु र बिराटनगर धरान, काकडभिट्ठा, राजविराज लगायतका ठाउँहरुमा बस संचालन हुने गरेको छ । गाईघाटको त्रियुगा बसपार्कको निर्माण कार्य भैरहेको भए पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा बस व्यवसायी, यात्रु तथा यातायात मजदुरहरुले सास्ती खेप्नु परेको बसपार्कमा काम गर्ने र विभिन्न यातायात काम गर्ने मजदुरहरु बताउँछन् ।

जनकपुरको रमण आइएसएनबि जेभिले २०७६ सालमा असार ३१ गते  रु १४ करोड ७६ लाखमा निर्माणको जिम्मा लिएको सो बसपार्क निर्माण कार्य ५५ प्रतिशत मात्र भएको छ ।  सोही अनुसार रकम पनि ३२ प्रतिशतमात्र भुक्तानी भएको नेपाल सरकार शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका प्रमुख डिई सचिन्द्र देवले बताए । काम सक्नु पर्नै समय २०८० असार ३० गते भए पनि समयमा काम नगर्दा काम परा हुन सकेन । बसपार्कको बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक पटक अनुरोध गरेको र गत असारमा निर्माण अवधि समाप्त भएपछि अवधि बढाउन निवेदन दिएकोमा एक वर्ष अवधि थपिएको डिई देवले यस अघि बताएका थिए । म्याद थप भएको पनि यो असारमा समाप्त भएको तर बसपार्कको काम भने बाँकी रहेको छ।

अर्को डुबानमा रहेको पोखरी झैँ लाग्ने बरुवा बसपार्कमा पहिले नै खाल्डाखुल्डी रहेको र माटो भर्ने काम बाँकी रहेका कारणले वर्षाको पानी जमेर पोखरी जस्तो भएको छ ।