कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

182
Shares

बागलुङ।

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो ।

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसेको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउँछन् । उनले भने, “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए । उनले सडक सञ्चालन हुँदा दैनिक सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै दुई हजार तिर्नुपरेको गुनासो पोखे । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाए ।