ट्राफिक प्रहरीको विशेष चेकिङ : ३१ जना चालक कारबाहीमा

322
Shares

काठमाडौँ। 

काठमाडौंको बल्खुमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६६ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ३१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०१-००६ ख २९ ८५ नम्बरका बस चालक काभेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २५ वर्षीय हरी थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाव ड्रग्स किटमा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । जगातीमा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा एकजना सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको प्रहरीले जनाएको छ  ।