अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

140
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको हो ।

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारबाही गरिएको हो ।’

असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा बर्गर हाउसले उपभोक्तालाई पठाएको म:म को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय बर्गर हाउसलाई जानकारी गराए । महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘गुनासो आएपछि बर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानबिन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारबाही गरिएको हो ।’

उजुरीको छानविनका लागि कार्यालयमा वोलाइएका बर्गर हाउसका सञ्चालक विक्रम गिरीले म म को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने वित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापरबाही भएको हो । खानाको स्वच्छतामा लापरबाही गर्ने कर्मचारीलाई हामीले पनि कारबाही गरिसकेका छौँ ।’ उनले यसपछि गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिबद्धता गरेका छन् ।