म्याग्दी अपडेट: पहिरोले घर पुरिँदा मृत्यु भएका दम्पतीको शव निकालियो 

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक पुनः बन्द

308
Shares

म्याग्दी। 

 वर्षासँगै घरभन्दा माथिबाट खसेको पहिरोले घर पुरिँदा म्याग्दीको ताकममा एक दम्पतीको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा धवलागिरि गाउँपालिका–७, ताकमका ६४ वर्षीय तुलप्रसाद न्यौपाने र ५९ वर्षीया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिले उनीहरुको शव निकालिएको छ ।

निरन्तरको वर्षासँगै आज (शुक्रवार) बिहान घर माथिबाट खसेको ढिस्कोसहितको पहिरोले घर पुरिएर न्यौपाने दम्पतीको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । पहिरोमा पुरिएका न्यौपाने दम्पतीको शव ताकम प्रहरीचौकीबाट खटिएका प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले निकालेका थिए । घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा न्यौपाने दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोबारे थप बुझ्न र मृतकको आवश्यक प्रक्रिया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । केही दिनदेखि निरन्तर रुपमा परिरहेको भारी वर्षाको कारण म्याग्दीखोला, कालीगण्डकी र राहुघाटखोलामा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेपछि जल तथा मौसम विज्ञान विभागले म्याग्दीखोलामा पानीको सतहले सतर्कता तह पार गरेको भन्दै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच निरन्तरको वर्षाकै कारण पहिरो खसेर बेनी–जोमसोम र बेनी–दरबाङ सडक पुनः बन्द भएको छ । पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको बैंसरी र भूरुङ–तातोपानी क्षेत्रमा पहिरो खसेर आज बिहानैदेखि सडक अवरुद्ध बनेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बेनी–दरबाङ सडकखण्डको घुमाउनेभीरमा पनि पहिरो खसेर सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षा र पहिरो खसिरहेको हुँदा खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।