सौन्दर्य प्रतियोगितामा एआई सुन्दरीको प्रवेश

112
Shares

काठमाडौं ।

आर्टिफिसयल इन्टेलिजेन्स (मानव निर्मित बौद्धिकता) को युग शुरू भएसँगै यसका अनेकौं चामत्कारी काम र परिणाम देखिएको छ।

यसै क्रममा हालै पहिलोपटक मिस एआई प्रतियोगिता सम्पन्न भएको छ। एआईद्वारा सिर्जना गरिएको कृतिम सुन्दरी प्रतियोगितामा मोरोक्कोकी हिजाब क्लाड केन्जा लायालीले मिस एआईको उपाधि जितेको एजेन्सीले जनाएको छ।

फ्यान भ्यू वल्र्ड एआई क्रियटरको आयोजनामा सम्पन्न प्रतियोगिता जितेवापत लायालीले २० हजार अमेरीकी डलर प्राप्त गरेकी छन्। सो रकम उनलाई सिर्जना गर्ने कासाब्लान्काकी ४० वर्षीया मरियम बेसाले पाउनेछिन्। उनी फोनिक्स एआईकी सिइओ हुन्।

‘तपाईंलाई मिस एआई प्रतियोगिता जित्दा कस्तो लाग्यो,’ भन्ने एक सञ्चार माध्यमको प्रश्नमा कृतिम सुन्दरी लायालीले मानिसले जस्तो भावना महसुस गर्न नसक्ने भए पनि आफू उपलब्धिबाट उत्साहित भएको बताइन्।

उनको सामाजिक सञ्जाल इन्स्टाग्राम खातामा एक लाख ९४ हजार फलोअर्स रहेका छन् भने उनी विभिन्न सात भाषामा कुराकानी गर्न सक्छिन्। प्रतियोगितामा फ्रान्सकी ललिना भेलिना दोस्रो र पोर्चुगलकी ओलिभियानामक कृतिम सुन्दरी तेस्रो भएका छन्।

प्रतियोगिताअनुसार मिस एआई प्रतियोगीहरूलाई उनीहरूको सौन्दर्य र उनीहरूलाई सिर्जना गर्न प्रयोग गरिने एआई उपकरणका सीप र कार्यान्वयनका साथै उनीहरूको सामाजिक सञ्जालको प्रभावकारिताका आधारमा मूल्यांकन गरिएको थियो।