ललितकलाको प्राज्ञसभा सम्पन्न

42
Shares

काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६औँ प्राज्ञसभा आइतबार सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको कुमार पाँडेले शुभारम्भ गरेको सभामा प्रतिष्ठानका कुलपति हार्तम्छालीले संस्थागत नीति, नियम र मानवीय संशोधनको पक्षमा समग्र सामूहिक जिम्मेवारीलाई जोाडेर लाने काम प्राज्ञसभाले गर्ने बताए।

उनले प्रतिष्ठान स्थापनाको १४ वर्षको अवधिको ऐतिहासिक सांस्कृतिक विरासतलाई जोड्दै नयाँ ढंगले अघि बढ्न आवश्यक भएको बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा. पाँडेले ललितकलालाई समय सापेक्ष अघि बढाउन आवश्यक रहेको चर्चा गर्दै देशको भविष्यमा ललितकलाको ठुलो महत्त्व रहेका बताए।

विकास भनेको सडक, भवनमात्र नभई कला पनि भएको चर्चा गर्दै उनले जनभावनाभित्रको सपना, आशा र भविष्य निर्धारणमा कलाको महत्त्वपूर्ण भूमिका रहने बताए।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानलाई कसरी अगाडि बढाउने, के–के कामलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ भनेर नीति र कार्यक्रमका लागि प्राज्ञसभाको आयोजना गरेको बताए। पूर्वउपकुलपति गोपाल चित्रकारले नयाँ योजनासहित बस्न लागेको प्रज्ञसभाले प्रभावकारी कार्यक्रम तय गर्ने आशा व्यक्त गरे।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र त्यसलाई रणनीतिक, योजनागत तथा नीति निर्माणको तहमा समन्वय गरी गर्न आवश्यक रहेको बताए। कार्यक्रमको बन्दसत्रमा नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल भएको थियो।