सुन तस्करी प्रकरण : धरौटी बुझाउन नक्सदा सेढाईं, लामा र भण्डारी कारागार चलान

224
Shares

काठमाडौं ।

तीन हजार १ सय ९४ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेका २० मध्ये १७ जनालाई जिल्ला अदालत काठमाडौंले पुपक्र्षमा पठाएको छ भने ३ जनासँग धरौटी माग गरेको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि उनीहरू पनि जेल चलान भएका छन् ।

६० किलो सुन तस्करीको छानबिन गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बितेको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुनको तस्करी भएको भन्दै अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले उक्त सुन तस्करीमा संलग्न रहेको अभियोगमा स्वदेशी तथा विदेशी गरी २० जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये १७ जनाको सुन तस्करीमा प्रत्यक्ष संलग्नता रहेको भन्दै अदालतले पुर्पक्षमा पठाउने निर्णय गरेको थियो भने ३ जनासँग ठूलो रकम धरौटी मागेको थियो।

अदालतले राजु खत्री भनिने प्रेमनाथ सेढाईं, कान्छा लामा र रूपक भण्डारीसँग धरौटी माग गरेको थियो। अदालतले सेढाईंसँग ५७ लाख र भण्डारी र लामासँग जनही ९७ लाख धरौटी माग गरेको थियो। उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको एकल इजलास पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। अदालतको आदेशमा जेल चलान हुनेहरूमा भारतीय नागरिकहरू सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे, प्रशान्त गणेश वजवलकार र वैजनाथ महादत्त गोयल रहेका छन् ।

त्यसै गरी नेपाली नागरिकहरू सुरेन्द्रमान श्रेष्ठ, मनोजराज श्रेष्ठ, भीमप्रसाद तिम्सिना, प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सुनिल जाकिबन्जा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुणकुमार यादव रहेका छन्। चिनियाँ नागरिक गंगा टासी, सेराप गुरुङ र शेरब ग्याल्बा भनिने सोनाम गुरुङ पनि जेल चलान भएका छन्।

चिनियाँ नागरिक दावाजिन वाङको समूहले नेपालमा बसेर सुन तस्करी गर्दै आएको थियो। सो गिरोहले विभिन्न इलेक्ट्रोनिक्स सामानमा सुन लुकाएर नेपाल ल्याउने र नेपालबाट तेस्रो मुलुकमा सुन तस्करी गर्दै आएको तथ्य सीआईबीले फेला पारेपछि अनुसन्धान अघि बढाएको थियो। सीआईबीले ठूलो परिमाणमा सुन तस्करी भएको भन्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यसका आधारमा सरकारी वकिलको कार्यालयले चिनियाँ नागरिक दावाजिनसहित थप ६१ जनाविरुद्ध सुन तस्करी, संगठित अपराधलगायत सातवटा कसुरमा मुद्दा दायर भएको थियो । जसमा ६० अर्ब ८२ करोड २२ लाख ९१ लाख २ सय ७१ रुपियाँ बिगो मागदाबी गरिएको छ।