संयुक्त राष्ट्र संघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी

42
Shares

न्यूयोर्क । 
संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।
संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन्। अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफूलाई गम्भीर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिर रूपमा लिनुपर्ने बताए । उनले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि गम्भिर हुन उच्च नेतृत्वलाई आग्रह पनि गर्नुभयो । समारोहमा राष्टि्य योजना  आयोगका उपाध्यक्ष भीम बहादुर श्रेष्ठलगायतले धारणा राखेका थिए ।

मुख्यालयमा जारी हाई लेभल पोलिटिकल फोरुम अन सस्टेनेवल डेभलपमेन्टलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिका बारेमा दवाव दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिए । उनले जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्त्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको बताए ।

मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतीक रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकला मार्फत प्रस्तुत गरेका छौं । प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने रायमाझीको विश्वास छ ।

निकै अर्थपूर्ण र कलात्मक रुपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्र संघको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिहरुको ध्यानाकर्षण गरेको छ । प्रदर्शनीमा मिथिला चित्रकारहरु स्वयम्ले यसको बारेमा व्याख्या गरिरहेका छन् ।

दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, इतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्साउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथाहरुसँग जोडिएको छ । सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यता मध्येको एक यो सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्‍याउने सेन्टरका अध्यक्ष शाहले दाबी गरे ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवहाक महावाणिज्य दुत चक्र सुवेदीले मिथिला सभ्यता नेपालको ऐतिहासिक पहिचान भएको भन्दै जलवायु परिवर्तनले पारेको असर र यसमा सम्पूर्ण विश्वलाई गम्भीर बनाउने उद्देश्यसहितको प्रदर्शनी आफैमा महत्त्वपूर्ण भएको दाबी गरे ।

त्यस्तै न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले प्रदर्शनीले नेपाली कलालाई विश्वमाझ चिनाउने मात्र नभई हाम्रो सभ्यतासँग जोडिएको गर्विलो इतिहासलाई जीवन्त बनाउने बताए।

मिथिला सेन्टर अमेरिकाको पहलमा गत वर्ष पनि यस्तो प्रदर्शनी गरिएको थियो । जुलाई ८ तारिखबाट अनौपचारिक रुपमा सुरु भएको प्रदर्शनी विहिबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । यो प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । प्रदर्शनी संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा जारी दिगो विकास लक्ष्य (एसडीजी) को उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको हो ।

प्रदर्शनीमा एस के सुमन, प्रतीक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिं, मनिश सिं लगायतका चित्रकार उपस्थिति रहेको छ । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको पनि प्रदर्शनीमा सहभागिता रहेको छ ।