एमबाप्पेको महत्वाकांक्षा पुरा भएन

140
Shares

एजेन्सी ।

‘मेरो युरोप च्याम्पियन बन्ने महत्वाकांक्षा थियो, तर, यो असफल भयो।’ यो किलियन एमबाप्पेले जर्मनीमा जारी युरोकप सेमिफाइनलबाट उनको टोली फ्रान्स बाहिरिएपछि बताएका थिए।

विश्वकप २०१८ का विजेता एमबाप्पेले फ्रान्सलाई जर्मनीमा उपाधि दिलाउने लक्ष्य लिएका थिए। तर, उनको टोली स्पेनसँग २–१ ले पराजित भएपछि उनको सपना पनि चकनाचुर भयो।

२५ वर्षीय एमबाप्पे रुसमा भएको २०१८ को विश्वकपमा चम्केका हुन्। त्यतिबेला १९ वर्षका उनले चार गोल गरेर फ्रान्सलाई २० वर्षमा पहिलो पटक उपाधि दिलाएका थिए। यसअघि १९९८ मा फ्रान्स ब्राजिललाई हराएर विश्व च्याम्पियन बनेको थियो।

एमबाप्पेले कतारमा भएको २०२२ को विश्वकपमा पनि शानदार खेल देखाए। उनले प्रतियोगिताको फाइनलमा ह्याट्रिक गर्नुका साथै कूल ८ गोल गरेका थिए। तर, उनको टोली फ्रान्स फाइनलमा पेनाल्टी शूटआउटमा अर्जेन्टिनासँग पराजित भएको थियो।

विश्वकपमा लगातार फाइनल पुगे पनि फ्रान्सको युरो यात्रा भने खासै राम्रो भएन। फ्रान्सको २०२० युरो यात्रा अन्तिम १६ बाटै सकियो। जसमा, एमबाप्पे स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी गोल गर्न अक्षम भएका थिए। उनले पेनाल्टी शूटआउटमा गोल गर्न नसक्दा फ्रान्स पराजित भएको थियो।

यसपटक जर्मनीमा एमबाप्पेमाथि ठूलै आस भएको थियो। एमबाप्पे शुरुको खेलमै नाक भाँच्चिएर घाइते हुन पुगे। समूह चरणदेखि नै संघर्ष गर्दै उनको टोली सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा स्पेन जस्तो सन्तुलित टोलीसँग फ्रान्सको केही लागेन। जर्मनीमा जारी युरोकपमा स्पेनलाई उपाधि दावेदारीमा शीर्ष स्थानमा राखिएको छ।

एमबाप्पेले जारी युरोकपमा ९ शट हानेकोमा केवल तीन मात्रै गोलको अवसरमा रहेको थियो। त्यसो त सेमिफाइनलमा स्पेनविरुद्ध गोल हुँदा उनले नै रान्डल कोलोलाई शानदार असिस्ट गरेका थिए।

पूर्व इंग्लिस डिफेन्डर रिओ फर्दिनान्दले एमबाप्पेबारे बताए—एमबाप्पेले गजबको बल पास गरेका थिए। यतिले मात्रै खेल जित्न पर्याप्त भने हुँदैन । एमबाप्पेले समग्रमा निरास नै गरेका थिए। उनीबाट यस्तो अपेक्षा पनि थिएन।

युरोमा असफल भएपछि एमबाप्पेको लागि नयाँ टोलीसँग खेल्ने पनि चुनौती हृुनेछ। उनी फ्रान्सको लिग क्लब पेरिस सेन्ट जर्मेन छाडेर रियल मड्रिडमा आबद्ध भएका छन्।

उनले केही वर्ष च्याम्पियन्स लिग उपाधि जित्नु लक्ष्य हुने बताए। दुई वर्षपछि विश्वकप खेल्न तयारी गर्ने पनि उनको लक्ष्य रहेको छ।