एसईईको चिन्ता र चासो

112
Shares

हाम्रा विद्यालयहरु पूर्णरुपमा राजनीतिको छायामा परेका छन्। अहिलेको एसईई परिणाममा मुस्किलले न्यूनतम तलब लिएर पढाएका शिक्षकहरुबाट धेरै विद्यार्थी पास भएका तर सरकारी सुविधाबाट पढाइएका विद्यार्थीहरु धेरै फेल भएका छन् । हालका शिक्षामन्त्रीले शिक्षालाई राजनीतिको भर्तीकेन्द्रमा नराख्ने प्रण गरिरहँदा उहाँसमेत संलग्न रहेको सरकारले मध्यरात्रिमा कोल्टो फेर्न लागेको छ।

सत्ताको रस्साकसीले देश फेरि एकपल्ट नयाँ स्वरुप लिँदै गरेका चित्रहरु देखिँदै छन्। यी पङ्क्ति तयार गरिरहँदा, साबिकको लोकतन्त्र बालकोट र खुमल्टार रहेको र अबको लोकतन्त्र बालकोटदेखि बूढानीलकण्ठसम्म सर्न लागेको छ। संघीयता र गणतन्त्र अनि लोकतन्त्र उन्नत भनिएको छ र यसका नङ्ग्राले आम नागरिक रक्ताम्ये हुन लागेका छन्।

जहाँ लोकतन्त्र उपस्थित छ, त्यहाँ नङ्ग्राको रुपमा चिथोर्न उद्यत् छ भने यो पद्धतिले लिएको सुशासन र सेवा प्रवाह पुस्तकालयमा अध्ययनका लागि तय भएको कुरा पछिल्ला भ्रष्टाचारकाण्डहरु पर्दाफास भएकोबाटै पुष्टि हुन्छ। पछिल्लो समय लोकतन्त्र बेचनबाट बेचैन हुँदै छ र संविधान संशोधनको भुल्भुलैया राखी आम जनतालाई नयाँ लोकतन्त्रको रंगमञ्चमा लगिएको छ, यसको प्रभाव सबै क्षेत्रमा परेअनुसार अतीतदेखि नै शिक्षाक्षेत्रमा पनि परेको विषयमा कोही अनभिज्ञ छैनन् र देशले होनहार युवालाई निर्यात गरेर त्यसले विप्रेषण आयात गरेको छ ।

सरकारले अर्बौं रकम शिक्षामा लगानी गरेको छ, तर शिक्षामा लगानी बालुवामा पानी भएको छ। २०८० को एसईई परीक्षाको नतिजामा जम्मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भई बाँकी अनुत्तीर्ण छन्। ४ लाख ८६ हजार ७८५ जनाले परीक्षा दिएकामा ४ जीपीए ल्याउने १८६ र कक्षा ११ का लागि योग्य जम्मा २ लाख ४२ हजार ३१३ रहेका छन् । सबैभन्दा महत्वपूर्ण विषय त के छ भने, झन्डै ३५ हजार विद्यार्थीले यो परीक्षामा फराम भरेर परीक्षा दिन गएनन् र परीक्षा दिनेमध्ये २२१ जनाको परीक्षा नै रद्ध भएको छ।

अधिकांश भनौँ ७८ हजार ८७४ जनाले २.८० देखि ३ सम्मको ग्रेडिङ पाएका छन् भने ३ देखि ३.२० सम्मको ग्रेडिङ पाउनेहरु ६८ हजार २५६ छन् । गत चैत्र १५ देखि २७ सम्म सञ्चालित सो परीक्षामा २ विषय अनुत्तीर्ण अर्थात् नन् ग्रेडिङ पाएकाले पुनः परीक्षा दिन सक्ने प्रावधानलाई परिवर्तन गरी सरकारले यसै श्रावणमा सबैले पुनः परीक्षा दिन सक्ने प्रावधान तय गरेको छ। हाम्रा पालामा पुनः परीक्षामा पनि एक वर्ष पर्खनुपर्ने सन्दर्भमा सबैले उतिखेरै पुनः परीक्षामा संलग्न हुन सक्ने प्रावधानले समयको पर्खाइलाई त हटाएको छ तर शिक्षा बिस्तारै देशमा खस्किँदै गएको सन्दर्भमा अटोमेटिक पास हुनेसमेत मान्यता बोकेका कारण आम विद्यार्थीले पढाइप्रति खासै ध्यान नदिएको भान हुँदै छ। जो पास हुन्छन्, तिनले पनि जीवन नबुझेको महसुस हुँदै छ र पढेपछि रोजगारी पाउने सम्भावना त न्यून नै छ।

राजनीतिमा साला, साली, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड, दाजु, भाउजू, भिनाजु प्रशस्तै चलेको हो, अब त शिक्षा त्यसमाथि एसईईमा पनि सालोको परीक्षा भिनाले दिए। हाम्रो संस्कार, संस्कृति मौलिकतालाई विदेशी संस्कृतिले बेस्सरी किच्न लागेको छ र देशमा सधैँ अप्रिल फुल छ । नेतृत्व सधैँ भन्छ, उथलपुथल गर्छु भनेर । टीआरसी विधेयक कता पुग्यो, निजामती विधेयकमा लत्तो छोडियो, विदेशी लगानी आकर्षण भन्दै घुमाउरो पाराले बाबाको काभ्रेको हदबन्दी बढीको र झापाको गिरीबन्धुलाई माया गर्दै हदबन्दीको जग्गा बिक्रीबारेको कानुन आएको छ। विद्यार्थीजति खाडीतिर धकेल्ने लोकतन्त्रले देशलाई स्वीट्जरल्यान्ड बनाउँछु भन्यो, हुँदै छ सोमालिया ।

वि.सं. १९९० देखि देशमा एसएलसी परीक्षा शुरु भयो। अब एसईईमा परिणत भएको छ। विद्यार्थीहरु नैतिक, इमानदार, अनुशासित उत्पादन गर्न सकिएको छैन। हाम्रो शिक्षा सीपमूलक भएन, रोजगारी पाउन नसक्ने शिक्षाप्रति आम मानिसको चासो छैन र प्लस टु सकिनासाथ खाडीमै भेटूँला भनिदै छ। २८ सालमा लागू गरिएको ऐनलाई जसोतसो कार्यान्वयन गरिँदै छ। शिक्षा ऐन आठौँ संशोधन २०७३ ले कक्षा १० को एसईई र कक्षा १२ को परीक्षाको जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ। साबिकको एसएलसी अब एसईईमा परिणत भई कक्षा १२ उत्तीर्ण नभएसम्म कलेज वा विश्वविद्यालयका ढोका बन्द छ। संविधानको धारा ३१ ले प्रत्येक नागरिकले आधारभूत शिक्षा निःशुल्क र अनिवार्यरुपमा पाउने गफ दिएको छ। र, माध्यमिक शिक्षासम्म निःशुल्क नै भनेको छ। तर यो व्यवहारमा लागू छैन। अभिभावकहरुले आफ्नो सबै आम्दानीबाट पनि सन्तानको शैक्षिक खर्च धान्न नसकेको गुनासो छ। स्वास्थ्य बिमा भन्ने सरकार अतिरिक्त शुल्क लिन्छ र निजीक्षेत्रका शैक्षिक संस्थाहरुले ठूलै व्यापार गरिरहेका छन्।

सरकारी पनि निःशुल्क छैन। संविधानको अनुसूची ८ ले शिक्षालाई स्थानीय तहको क्षेत्राधिकारमा राखेको छ र पालिकाका पदाधिकारीहरुलाई विद्यालयहरुमा गएर माला लगाउनै भ्याइ–नभ्याइ भएको छ। गुणस्तरको जनशक्ति छैन, राम्रो अनुगमन छैन, नानाथरीका शुल्कहरुले अभिभावक चिन्तित छन्।

अभिभावकहरुको आयआर्जन नहुँदा विद्यार्थीको विद्यालय ड्रप आउट संख्या बढ्दै छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले स्कुल छोड्ने क्रम ४३ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ भने उच्च शिक्षामा भर्नापछि ड्रप आउट संख्या २० प्रतिशत छ। वार्षिक सवा लाख विद्यार्थी बाहिर पोखिएको स्वयं त्यस क्षेत्रमा काम गर्नेहरुको भनाइ छ। महिनाकै १० अर्ब रकम विदेश जाने गरेको तथ्यांक छ, शिक्षा आर्जन भन्दै। गतवर्ष सञ्चालित सबैभन्दा बढी परीक्षामा सामेल हुने काठमाडौँ केन्द्रबाट ३८ हजार ८१३ जना विद्यार्थीको आँकडा छ भने कममा परेको छ जापान केन्द्र, जसमा मात्र २३ जना विद्यार्थी रहे। यस वर्ष परीक्षामा केही परिवर्तन गरिएको छ, जसमा आन्तरिक मूल्यांकनमा न्यूनतम ४० प्रतिशत र सैद्धान्तिकतर्फ हरेक विषयमा ३५ नम्बर ल्याउनै पर्ने थियो ।

नयाँ पुस्तामा जिम्मेवारीको अभाव छ, मस्तिष्कमा समझदारीको छैन, मिहिनेत नगरीकनै ठूलो बन्ने, धनी हुने सोख छ। राजनीतिक दलहरुले आ–आफ्ना भ्रातृ संस्थाहरु खोल्दै नयाँ पुस्तालाई आफैँ जस्तो हुन प्रशिक्षण गर्दै छन्। विद्या ददाति विनयं विनयात् याति पात्रताम्, पात्रतात् धनमाप्नोति धनात् धर्म ततः सुखम् (नीति) । अर्थात् विद्याले नम्रता दिन्छ, नम्रताले असल पात्र बनाउँछ, असल पात्रबाट धनार्जन हुन्छ, त्यस्तो सत् आर्जित धनले धर्म भई जीवनभरि सुख र त्यसपछि शान्ति मिल्छ । त्यसैले नीतिले नै भनेको छ– विद्या धनं सर्व धनं प्रधानम् अर्थात् सबै धनभन्दा विद्या धन नै ठूलो धन हो । ठीक उल्टो आजको शिक्षाले ढुंगा हान्न सिकाएको, श्रम–सीपको अभाव भई मौलिकता गुमाएको, पराधीन भएर झन्–झन् बेरोजगार भई आमाबाबुको घर–खेत बिक्री गर्दै खाडीमा जान प्रेरित गरेको, युरोप, अमेरिकाको सपनामा अभिभावकबाट टाढा भएका बाबुआमा एक्लै भएका र मृत्यु अनि त्यसपछि पनि सन्तानको अभाव भएको महसुस भएको छ।

आजको नयाँ पुस्ताले न घर, परिवार, समाज वा देश बोक्न सकेको छ, न आपूm स्वावलम्बी भई स्व–आर्जन गर्न सकेको छ। साँचो विद्या त्यस्तो विद्या हो जसले जीवनलाई जीवन्त बनाउँछ। अक्षर भन्नु क्षर अर्थात् खेर नजानु हो, नष्ट–भ्रष्ट नहुनु हो, नाश नहुनु हो । अझ अक्षर भन्नु त परब्रह्म प्राप्ति हो, मुक्ति पनि हो, उन्मुक्ति हो । अक्षरसहित आफूलाई स्थापित गर्नु साक्षर हुनु हो, कखरा सिक्नु वा ए, बी, सी, डी पढ्दै साक्षर हुने होइन, ठूला डिग्री बोक्दैमा मानिस ठीक हुन्छ भन्ने होइन, अक्षरै नचिनेकाले पनि घर, परिवार, जीवन गतिलो ढंगले हाँकेका कैयौँ उदाहरण छन् । ज्ञान प्राप्तिपछि विज्ञानको दुरुपयोग गर्नुहुन्न, बन्दुकको बलभन्दा कलमको बल बढी हुन्छ ।

त्यो बेला बिहानभरि मेला भ्याएर, चार गाँस टिपी कुदेर स्कुल जानुपर्ने । त्यो पनि खाली खुट्टा, आउँदा–जाँदा खोला–बाढीको पीर त छँदै थियो, स्कुलमा ढिलो हुन नहुने, गुरुलाई मुखाग्र पाठ बुझाउनुपर्ने, लेखेर सबै देखाउनुपर्ने, भन्न सकिएन वा गल्ती भयो वा गृहकार्य गरिएको छैन भने लठ्ठी खानुपर्ने, त्यो पनि हातै रातो हुने गरी । हाफ टाइमको समय आधा घण्टा रल्लिँदा पाँच–दश पैसाको चना, केराउ टोक्दै पन्ध्र–बीस मिनेटको खाली समय कि त साइकल खेल्ने, भाडामा साइकल लिएर अथवा स्कुलनजिकै बजारमा सुनिने रेडियोको समाचारले दिनभरिका राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाबारे जानकारी लिनुपर्ने । छुट्टी भएपछि सुरुवालको इनारले कम्मरमा किताबहरु अड्काएर या त घर फर्कंदा खेतबारीको मलको डोको वा पतकर, घाँस, दाउरा वा बजारका कुनै किनमेल वा फर्कंदा खेतमा धानमा पानी लगाउने, बाउसे गर्ने वा खेत गोड्ने वा गहुँ चुट्ने, काट्ने, गाईवस्तु कता छन् खोज्दै गोठसम्म ल्याउनुपर्ने अवस्था हुन्थ्यो।

जसोतसो घरभित्र पुगेपछि टुकी बत्तीमा भातभान्सा, रसेटो, गाई दुहुनु, खानीकुरो हाल्ने, किताब समाउने फुुर्सदै कहाँ पाउने र ? जसोतसो घरधन्दा छिनेर ओछ्यान पुगी भोलि गुरुलाई पाठ बुझाउनुपर्ने तयारी कण्ठ पारेर हो वा लेखेर, गृहकार्य पूरा गर्दा मध्यरात बितिसक्थ्यो । प्रोज, पोयट्री कण्ठ, भाषा उल्था, अल्जेब्राका थेरमहरु कण्ठ, भाषा, व्याकरण सूत्रसहित कण्ठ, निबन्ध, चिठी लेखन, राष्ट्रिय, अन्तर्राष्ट्रिय सामान्य ज्ञान संसारभरिको सबै जान्नुपर्ने । शुक्रबार हाफ छुट्टी भएपछि खेतीको काम, परिवारको अरुको भारोपर्म मेलाको पालो दिनुपर्ने। सप्ताहान्त बिदाको दिन मन्दिरका गुरुहरुसँग विशेष जीवन दर्शन, पुराण, धर्मकर्मका बारे विवेचना, व्याख्या, मीन पचासको या दशैँ तिहारको लामो बिदामा गुरुकूल, खेतबारीका सबै काम, भारोपर्म, अलि ठूलो हुनासाथ स्कुल बिदा मिलाई कथा प्रवचन, सत्संगमा सामेल, ज्योतिष, चिनामा दक्षता हासिल गर्नुपर्ने । साथै स्कुल, कलेजका अतिरिक्त घरधन्दादेखि इष्टमित्रकहाँ आउजाउ जीवनको रहस्यबारे सिकाइ, भोगाइ, हल्का फुर्सद मिल्नासाथ विश्वविद्यालयका पुस्तकालयमा अतिरिक्त ज्ञानका लागि दौडधूप, कीर्तिपुरदेखि हरेक कलेजका पुस्तकालयपिच्छेको सदस्य बनेर भनौँ अहोरात्र खटेर, चौबीस घण्टामा ४ घण्टा आराम, बाँकी जीवन कलेज, पुराण, ट्युसन, नोकरी, घरजग्गाको थप जोहो, कमाइ, बचत, औषधिमूलो, कपडा धुनेदेखि यावत् समस्या एक्लै झेलेर जीवनलाई खार्नुपर्ने अवस्था थियो र पनि जसोतसो सेकेन्ड डिभिजन प्रमाणपत्र हात पर्ने गर्थ्यो।

समयले कोल्टो फेर्‍यो । नयाँ पुस्ता अहिले ठस्ठसी कन्दै आठ बजेसम्म ओछ्यान छोड्दैनन्। सोफावरिपरि पुस्तक छरिएका छन्, मिलाउँदैनन्। बेड टी समयमै चाहिन्छ। दाँत माझ्न शनिबार कुर्नुपर्छ। स्मार्ट फोन, पंखामुनि सजिएको कोठा, टेबुल, कुर्सी, ल्यापटप, अनलाइनमा नेटको फी, बाउबाजेको घरमा हुने महिनाको खर्चबारे जानकारी छैन । एक्लै नुहाउन सक्दैन, नुहाइहाल्यो भने भित्री कपडा, मोजासमेत शौचालयमै छोड्छ। बट्टा बन्दी खाना, त्यो पनि भनेकै बेला, यसरी आज विद्यार्थाको दिनचर्या चलेको छ, तर पनि अधिकांश फेल हुने अवस्था छ । यो सब कसको दोष ? राज्यको कि परिवार–समाजको ? पर्गेल्ने बेला आएको छ ।