पानीजन्य रोगको भय

280
Shares

देशव्यापीरुपमा एक सातादेखि उच्च बर्साद भइरहेको र जनधनको क्षति हुनुका साथै पिउने पानीको मुहानहरुमा समेत फोहोर पानी प्रवेश गरेको अवस्था छ। यति बेला पानी शुद्धीकरण गरेर पिउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई सचेत गर्दै आम सञ्चारका माध्यममार्फत सूचना जारी गरेको छ।

यो सूचनाको पँहुच र स्रोत नपुग्नेहरुका लागि स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकामार्फत सरकारले घरघरमा सन्देश पु¥याउनु राज्यको दायित्व हो । पानी शुद्ध नहुँदा बर्सादको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँजस्ता पानीजन्य संक्रमण रोगहरुको जोखिम बढी हुने भएकाले खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यस्तो अवस्थामा पानीलाई सकेसम्म उमालेर पिउने, यदि त्यस्तो सम्भावना नभएमा पीयूष तथा अक्वा ट्याब्सजस्ता क्लोरिन हाली उमालेर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सन्देशलाई पहुँचमा पुर्‍याई थप जोखिमबाट जोगाउन र जोगिन आम नागरिक सचेत होऔँ। यति मात्र नभई बर्सादको समयमा खानेकुरा राम्रोसँग पकाएर खाने र उमालेको पानीलाई सफा भाँडोमा छोपेर राखी आवश्यकताअनुसार पिउने गर्नुपर्छ।

यसका साथै बासी खानेकुरा खानुहुँदैन। लामो यात्रा गर्नुपर्ने यात्रीहरुलाई लक्षित गरी खोलिएका होटल व्यवसायीहरुले पनि नाफाका लागि बासी खाना खुवाउने र उमालेको पानी भन्दै मनतातो पानी खुवाउने गरेको पाइन्छ। सरकारले अनुगमन गरी जनस्वास्थ्यका यस्ता विषयमा सचेत गराउनुपर्छ । त्यस्तै सागसब्जी, फलफूल पनि राम्रोसँग धोएर मात्र खानुपर्छ। दिसापिसाब शौचालयमानै गएर गर्ने, सरसफाइमा ध्यान दिनेजस्ता विषयमा पनि जनचेतना हुनुपर्छ।

विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा पनि पिउने पानी र खाजाका साथै ट्वाइलेट जाँदा हात धुने साबुन–पानीको व्यवस्था हुनुपर्छ। यसै गरी सार्वजनिक शौचालय र अस्पतालका शौचालयहरुमा समेत सरसफाइका लागि पानी–साबुनको व्यवस्था अनिवार्य हुनुपर्छ। फोहोर संकलन गर्ने भाँडाहरु पनि सुरक्षित र बिर्को भएका हुनुपर्छ।

अस्पतालका वार्डहरुमा राखिएका खुल्ला बाल्टिनलगायतका डस्टबिनमा फालेका फोहोर, खानेकुरा, डाइपर, ग्लोब्स, प्याडजस्ता सामग्री कुकुरले छर्ने र यत्रतत्र फैलाउने गरेको देखिन्छ। यस्तो फोहोरजन्य सामग्रीको व्यवस्थापनमा अस्पताल व्यवस्थापनको ध्यान पुग्नु जरुरी छ। अस्पतालमा बिरामी र बिरामी कुरुवामा थप रोगको त्रास हुनबाट जोगाउन अस्पताल व्यवस्थापनले ध्यान दिनुपर्ने देखिन्छ। साथै सरकारले पनि समय–समयमा अनुगमन गरी आवश्यक निर्देशन दिने र सुधार नभएमा कारबाहीसमेत गर्नुपर्ने देखिन्छ।

पानीजन्य रोगका कारण बर्सादका समयमा अधिकांश अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक देखिन्छ। यस्तो अवस्थामा शौचालयमा पानी नहुनु, सरसफाइमा ध्यान नदिनु, साबुन नहुनुजस्ता समस्यालाई अस्पताल व्यवस्थापनले गम्भीररुपमा लिएको पाइन्न । यहीँबाट रोग फैलिन सक्छ भन्ने विषयमा सर्वप्रथम अस्पतालहरु नै सचेत हुनुपर्ने देखिन्छ।

यसका साथै ठूलो संख्यामा मानिस भेला हुने स्थान, विद्यालय, कलेज, मालपोत, बैंक, मल, सैन्य तालिम केन्द्र, प्रहरी कार्यालय, तालिम केन्द्र आदि स्थानमा पानीजन्य रोग फैलन सक्ने भएकाले यस्ता स्थानमा बढी सुरक्षा अपनाऔँ। बर्सादले गर्दा बाढीपहिरो आई जोखिममा परेका बस्ती, क्षति भएका स्थानहरुमा पनि पानीजन्य रोग फैलन सक्ने हुनाले आम नागरिक सचेत हुनुपर्छ।

बर्सादकै कारण पिउने पानीको मुहान नै भत्किएको वा अन्यत्रको पानी मिसिएको अवस्था भएकाले यतातर्फ पनि सबैको ध्यान पुगोस् । रोग लाग्नुभन्दा रोग लाग्नै नदिन यो बर्सादको समयमा सरकार सचेत हुनै पर्छ ।