क्यानडामा नेपालको फेस्टिवल

84
Shares

काठमाडौं ।

लिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वायरमा हालै पहिलोपटक नेपाल फेस्टिवल २०२४ सम्पन्न भएको छ।

पाँच हजारभन्दा बढी नेपाली सहभागी एकदिने महोत्सवमा सहभागीले नेपाली गीतसंगीत, भेषभूषा, हस्तकलाका सामग्री र नेपाली परिकार रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी गराएका छन्।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारू, मधेसीलगायत विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो। महोत्सवमा गायक हिमाल सागर, कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डका साथमा स्थानीय कलाकारले आफ्ना प्रस्तुतिमार्फत मनोरञ्जन गराएका थिए। गायक हिमाल सागरले आफ्ना चर्चित गीत गाएका थिए।

‘प्रवासमा पाइने माया र आफ्नोपनलाई शब्दमा व्यक्त गर्न सकिँदैन। महोत्सवमा नेपाली गीतसंगीत र नेपालप्रति दर्शाउनु भएको माया अद्भुत छ,’ गायक हिमालको भनाइ छ।

क्लबका क्रिजल अधिकारीको सभापतित्व तथा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लबका प्रवक्ता भूमिराज घिमिरे र जीआर भण्डारीले सञ्चालन गरेका थिए।